काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात २.०७ अंकले घटेर २ हजार ९६२.१३ विन्दुमा सीमित बनेको छ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले घटेर ५१३.०९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर १९ अर्ब ३६ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार अजय सिंह थापा (जयशम्भु) भन्छन्, ‘केही समयदेखि बजारले गति लिनुमा राष्ट्र बैंकको सकारात्मक मौद्रिक नीति नै हो । अहिले मुद्दती निक्षेपको ब्याजदर न्यून स्तरमा रहेको छ । कर्जाको ब्याजदर पनि घटेको छ । अहिले सिजिनल रुपमा पनि बजार बढ्ने समयनै हो ।’
प्राविधिक रुपमा पनि बजारले इलिअट वेभको चौथो वेभ सकेर पाँचौ वेभको यात्रा लिएको र बजारले अल टाइम हाईको उचाई छुने उनले दाबी गरे ।
नेपाल पूँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईले ३ हजार विन्दुबाट करेक्सन आएर आज बजार सम्हालिएको बताए । प्राविधिक विश्लेषक र केही आत्तिएका लगानीकर्ताले बिक्री दबाब दिएका थिए तर आज किन्न छुटेकाहरुलाई समेत समेटेर बजार सम्हालिएको उनले बताए ।
उनले आजको बजार बुल चारणको रिकभरी भएको बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ९ वटा समूहमा रातो पोतियो । विकास बैंक समूह आज सर्वाधिक अर्थात ३.०४ प्रतिशतले बढ्यो ।
यस्तै , फाइनान्स २.७५, उत्पादन तथा प्रशोधन १.७१, र व्यापार समूह ३.२४ प्रतिशतले बढ्यो ।
बैंकिङ समूह आज सर्वाधिक अर्थात ०.८९२ प्रतिशतले घट्यो । होटल समूह पनि आज ०.२८ प्रतिशत, हाईड्रो ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६,लघुवित्त ०.३३,म्युचुअल फण्ड ०.२३, निर्जीवन बीमा ०.७२ र अन्य समूह ०.७६ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९२ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन डिस्टीलरीको ७६ करोड ९९ लाख, ङादी ग्रुप पावरको ५७ करोड ९७ लाख, लुम्बिनी विकास बैंकको ५५ करोड ५३ लाख र एचआईडीसीएलपीको ५१ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । अपर सर्किट लाग्ने कम्पनीहरुमा ट्रेड टावर, समता घरेलु लघुवित्त र सान्भी इनर्जी मात्रै रहे ।
हिमालयन डिस्टीलरीको सेयरमूल्य ५.८० प्रतिशत,सांग्रिला डेभलपमेन्ट बैंकको ५.७३ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.६३ प्रतिशतले बढ्यो ।
विन्ध्यवासिनी हाईड्रोपावरको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.४९ प्रतिशतले घट्यो ।