काठमाण्डौं । आज दिनभर उत्तारचढाव व्यहोरेको सेयर बजार परिसूचक अन्तमा १२ अंकले बढेर बन्द भएको थियो । तर नेप्सेले अन्तिम १५ मिनेटको क्लोजिङ एभरेजिङ गर्दा बजार उल्टो २.०७ अंकले घटेको देखाइयो ।
दोहोरो अंकले बढेको नेप्से क्लोजिङ एभरेजिङका कारण घट्न पुगेपछि लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जले एभरेजिङका लागि प्रयोग गर्ने टूल्स(विधि)को विषयमा प्रश्न उठाएका छन् । सयौं लगानीकर्ताहरुले नेप्सेको अन्तिम १५ मिनेटको एभरेजिङको विधि वैज्ञानिक र पारदर्शी नभएको भन्दै बजारमा नकारात्मक सेन्टिमेन्ट फैलाउने काम बन्द गर्न चेतावनी समेत दिएका छन् ।
मुख्य सूचक मात्र नभई नेप्सेमा कारोबारमा आएका कतिपय कम्पनीहरुको क्लोजिङ एभरेजपछि कायम मूल्यको विषयमा पनि थुप्रैले प्रश्न उठाइरहेका छन् ।
नघट्नुपर्ने नेप्से परिसूचक घटेपछि र कतिपय कम्पनीको मूल्यमा पनि यस्तै प्रवृति देखिएपछि केही लगानीकर्ताहरुले नेप्से नेतृत्वमाथि बजार घटाउन लागेकोसम्मको आरोप समेत लगाएका छन् ।
लगानीकर्ता एसपी चौंलागाइले शंका व्यक्त गर्दै फेसबुकमा लेखेका छन्यो-' १५ मिनेटको एभरेजिङ्गलाई तपाईं के भन्नुहुन्छ ? बजार घट्दा र बढ्दाको क्लोजिङ्ग एभरेजिङ्ग बिश्वसनीय छ?'
त्यसैगरी नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे लेख्छन्-'‘२ः४५ मा २९६७ भएको इण्डेक्स ३ बजे २९७६.३४ क्लोजिङ थियो । अन्तिम १५ मिनेटको एभरेज २९६२.१३ कसरी भयो ? यसमा नेप्सेले तत्काल जवाफ देओस् । हिजोको कारोबारमा पनि केही स्क्रिप्टमा चलखेल भएको पाइएको छ ।’
अर्का लगानीकर्ता सिरुमणि पोखरेलले पनि आजको अन्तिम १५ मिनेटको एभरेजिङप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
एक लगानीकर्ताले यदि २ः४५ पछि मूल्य लगातार बढ्दो अवस्थामा थियो भने क्लोजिङ औसत न्यून हुनु आश्चर्यजनक देखिने बताउँछन् । 'यो डेटा पारदर्शिताको समस्या हो । नेप्सेले स्पष्ट प्रणाली सार्वजनिक गर्नुपर्छ । हरेक कम्पनीको क्लोजिङ मूल्य कसरी गणना भयो भनेर दैनिक ख्ध्ब्ए डेटा सार्वजनिक गरे लगानीकर्ता विश्वस्त हुनेछन् । प्रणालीमा पूरा सुधार आवश्यक छ । रियल टाइम ट्रेडिङ सिस्टममा त्रुटिहरु छन् भने संकेत यसले दिन्छ ।'-उनले भने ।
अर्का एक लगानीकर्ताले यही विषयमा बिजशालासँग भने-' नेपालको सेयर बजार अझै पारदर्शी, तथ्यमा आधारित र गणनात्मक ढंगले उत्तरदायी बन्न बाँकी छ भन्ने यसले देखाएँछ । नेप्सेले सूचक र क्लोजिङ मूल्यको गणना प्रक्रिया सार्वजनिक गर्नुपर्छ र सेबोनजस्ता नियामक संस्थाले स्वतन्त्र अडिट र विश्लेषण गराउने प्रावधान ल्याउनुपर्छ ।'
लगानीकर्ताको व्यापक विरोधपछि नेप्सेले पनि आफ्नो प्रमुख वेबसाइटमा बजार बन्द भएलगत्तै एउटा सूचना सार्वजनिक गर्दै भनेको छः 'सरोकारवालाहरुबाट आएको नेप्से परिसूचक गणना फरक परेको भन्ने विषयमा अध्ययन भइरहेको व्यहोरा सबैलाई जानकारी गराउँदछौ ।'
नेप्सेले हतार-हतार यस्तो सूचना जारी गर्नुले समेत लगानीकर्ताको गुनासोमा उसको समेत घुमाउरो समर्थन रहेको देखाउँछ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बिजशालासँग कुरा गर्दै यो विषयमा नेप्सेले अध्ययन गरिसकेको र सम्भव भएसम्म आजै यसको निश्कर्ष आउने दाबी गरे ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                