काठमाण्डौ । सुनको मूल्य तीन दिनमा ६.५१ प्रतिशतले घटेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको हो । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य ९ प्रतिशतसम्मले घटेको थियो । पछिल्ला केही घण्टा चाहिँ घट्न बन्द भएर सुधा हुन खोज्दा मूल्य केही सम्हालिएको छ । जसका कारण तीन दिनको अवधिमा सुनको मूल्य ६.५१ प्रतिशतले घटेको देखिएको हो ।
हिजो पनि अन्तराष्ट्रिय बजारमा कारोबार खुलेलगत्तैदेखि सुन र चाँदीको मूल्य घटेको थियो । लामो समयसम्म झिनो अंकले मूल्य घट्यो । १२ घण्टाअघिसम्म करिब ४००० प्रति औंसमा झरिसकेको सुनको मूल्य सम्हालिएर यो समाचार तयार पार्दासम्म ४०८९ डलरमा फर्किएको छ । यसरी सोमबार प्रति औंस ४३७४ डलरको उचाईमा पुगेको मूल्यमा तीन दिनमै ६.५१ प्रतिशतको गिरावट दर्ज भएको छ ।
यस्तै, चाँदीको मूल्य समेत तीन दिनको वधिमा ८.२८ प्रतिशतले घटेको छ । तीन दिनअघि सोमबार उच्चतम ५३ डलर प्रति औंसमा पुगेको चाँदीको मूल्य यो समाचार तयार पार्दासम्म सम्हालिएर ४८.६२ डलरमा पुनः उक्लिएको छ । यो तीन दिनको अवधिमा चाँदीको मूल्य ४७ डलरसम्म झरेको थियो ।
यसरी सुनचाँदीको मूल्यमा भीषण गिरावट रोकिएको जस्तो देखिएको छ । विश्लेषकहरुले यो तीन दिनको उच्च गिरावट स्वस्थ्य करेक्सन रहेको दाबी गर्दै मूल्य अब उकालो लाग्न थाल्ने प्रक्षेपण गरेका छन् ।
सिएनएन मनी, बीबीसी विजिनेश, रोयटर्स, सिएनबिसी लगायतमा प्रकाशित प्रक्षेपणहरुमा समेत सुनको मूल्य अब धेरै नघट्ने दाबी गरिएको छ ।