काठमाण्डौ । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको Associate Client का रुपमा रहेको साझेदारी अन्तर्गत आयोजित “Visa Leadership Conclave” कार्यक्रममा तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ ।
यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो । बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवं व्यवसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा निम्न अवार्डहरु भिसाद्वारा बैंकलाई प्रदान गरिएको छ ।
१.Excellence in Consumer Credit Cards
२.Excellence in Prepaid Cards
३.#. Excellence in POS Acquiring
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएस सेवामा उल्लेखनीय रुपमा बजार बिस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।
२०८२ असार मसान्तसम्म बैंकहरूले कुल करिब ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरिसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ६० हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, असार २०८२ मसान्तसम्मको कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी, असार २०८२ मसान्तसम्म बजारमा २ लाख ५० हजार प्रिपेड कार्ड जारी भइसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ३४ हजार कार्ड रहेको छ । साथै, असार २०८२ मसान्तसम्म उद्योगस्तरमा करिब १ करोड २५ लाख पीओएस कारोबार भएका छन् भने सोही अवधिमा सिद्धार्थ बैंकमार्फत करिब ९ लाख ३६ हजार कारोबार भएका छन्, जसको आधारमा बैंकको बजार हिस्सा करिब ८ प्रतिशत रहेको छ ।

