काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।
आज हामीले घट्टेकुलो, अनामनगर र न्यूप्लाजा आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।
सर्वप्रथम हामी न्यूप्लाजामा रहेको दिव्या सेक्युरिटिज (ब्रोकर नं. ५९)मा पुग्यौं । नेप्से परिसूचक सामान्य अंकले घटेको थियो । उक्त ब्रोकर हाउसमा ४÷५ जना लगानीकर्ता मात्रै उपस्थित थिए । लगानीकर्ताहरु वर्तमान राजनीतिक अवस्थाबारे कुरा गर्दै थिए । त्यत्तिकैमा एकजना लगानीकर्ताले आफुपनि महोत्तरीबाट समानुपातिकतर्फबाट उठ्नुपर्छ कि क्या हो भन्दै व्यङ्ग्यात्मक तरिकाले भने ।
एकजना लगानीकर्ताले भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी चुनावमा सबैभन्दा बढी मत खस्न सक्ने अनुमान लगाउँदै थिए । उनको कुरा सकिनासाथ अर्को लगानीकर्ताले भने बालेन साह र पुष्पकमल दाहाल पछि गएर मिल्न सक्ने आँकलन गर्दै थिए ।
हामी उक्त ब्रोकर हाउसबाट निस्किएर दोस्रोमा घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति बाक्लो नै थियो । लगानीकर्ताहरु समग्र राजनीतिक विषयमा नै बढी केन्द्रीत थिए ।
एकजना लगानीकर्ताले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी अब देशकै ठूलो पार्टी बन्ने वाला छ, प्रत्यक्षबाट थाहा भएन तर समानुपातिकतर्फबाट सबैभन्दा बढी सिट जित्ने भनेकै रास्वपाले हो ।’ उनको कुरा खण्डन गर्दै अर्का लगानीकर्ताले भने जति मत ल्याएर जिते पनि देशको प्रधानमन्त्री बालेन साह बन्न नहुने तर्क व्यक्र गरे । उनले भने, ‘बरु रवि लामिछाने प्रधानमन्त्री होस् तर बालेन साह नहोस्, रास्वपामा अरु पनि छन् क्यापेबल तर बालेन साह नै प्रम हुनपर्छ भन्ने छैन ।’
अर्का लगानीकर्ताले भने चुनाव हुने शतप्रतिशत निश्चित भएपनि मार्केट माथि जान नसकेको गुनासो गर्दै थिए । ‘लगभग चुनाव हुने निश्चित भइसक्यो तर अझैपनि सेयरबजार कतातिर जाने हो फिक्स छैन’ उनले भने, ‘सायद माघ महिनामा चुनावी माहोल अलिक तातिने र पुस मसान्तको दबाब पनि सकिने भएकाले बजार माथि जान्छ कि भन्ने आशा छ ।’
त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युटिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । सोही ब्रोकर हाउसमा पनि समग्र राजनीति विषयमा नै बढी गफगाफ चलिरहेको थियो ।
लगानीकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टीका विषयमा बढी केन्द्रीत थिए । केहीले रास्वपाभित्रै छिट्टै विवाद भई टुक्रिन सक्ने अनुमान लगाएका थिए भने केहीले विवाद भएपनि नटुक्रिने अनुमान लगाएका थिए ।
एकजना महिला लगानीकर्ताले भनिन््, ‘यदि रास्वपाले चुनावमा धेरै मत ल्याएर सबैभन्दा ठूलो दल बन्यो भने रवि लामिछानेले छोड्ला त ? यतिको समयमसम्म पार्टीलाई जसोतसो गरेर यहाँसम्म ल्याएका छन् सजिलै उनले मान्ने देखिँदैन चुनावपछि यो पार्टीमा धेरै विवाद हुनसक्ने देखिन्छ ।’
उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले भने, ‘मलाई पनि त्यस्तै लाग्छ, जति जे भएपनि पार्टीलाई मिलेर अगाडी बढाउने सम्भावना कम नै देख्छु, सबैलाई सत्ताकै मोह छ । कुलमान घिसिङ पनि सन्की किसिमका छन् अनि बालेन साह घमण्डी स्वभावको ।’
सोही ब्रोकर हाउसमै भएका अर्का युवा लगानीकर्ताले भने जनताले साच्चिकै सरकारको स्थायित्व खोजिरहेको बताए । ‘हामीलाई जसले जिते पनि सरकारको स्थायित्व चाहिएको छ । जुन दलले जितेर सरकार चलाए पनि स्थायित्व हुनुपर्यो र समग्र क्षेत्रहरुको विकास हुनुपर्यो त्यति हो ।’ अर्को पाका लगानीकर्ताले भने यसपटकको चुनाव चाखलाग्दो हुने र अब संसद भवनमा युवा नेताहरु मात्रै रहने बताए ।
त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं.४५) पुग्यौं । उक्त ब्रोकर हाउसमा पनि समग्र राजनीतिक विषयमा नै छलफल हुँदै थियो ।
लगानीकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टीसँगै समग्र ठूला दलका विषयमा कुरा गर्दै थिए । एकजना लगानीकर्ताले बालेन साह काठमाण्डौको क्षेत्र नं. २ बाट उठ्ने कुरा सुनाउँदै उनले जित्ला कि हार्ला भन्ने विषयमा जिज्ञासा व्यक्त गर्दै थिए ।
उनको जिज्ञासा मेटाउन खोज्दै अर्को लगानीकर्ताले भने, ‘मलाई त यसपटक बालेनले जित्छ जस्तो लाग्दैन, धेरैजना भड्किसके अब युवाहरु थाहा भएन तर पाकाहरुले उनलाई भोट दिदैनन् ।’ साथै अर्का लगानीकर्ताले पनि यसपटक राप्रपामा भोट हाल्ने भनेर सुनाए ।
त्यत्तिकैमा साइडमा बसेका लगानीकर्ताले स्क्रिनतर्फ आँखा लगाउँदै भने, ‘यो बजारले पनि साह्रै दुःख दियो, माथि उक्लिनै सकने के भएको ? अब यस्तै रह्यो भने हामी त डुब्छौ त ।’
साथै उनलाई सान्त्वना दिदै अर्का लगानीकर्ताले भने, ‘अब पुराना दलहरुले खासै केही गर्न सकेन अब नयाँले केही गर्छ कि भन्ने आशा हो तर सत्तामा पुगेपछि सबै त्यहि हो जसलाई पनि पदको लोभ हुन्छ ।’
एकजना लगानीकर्ता भने सेयरबजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरीका लगानीकर्ताले कमाएको बताए । ‘पछिल्लो ५ वर्षयता एचडिएलको सेयर होल्ड गर्नेहरुले राम्रै नाफा कमाए, कम्पनीले अन्य कम्पनीहरुको तुलनामा राम्रै लाभांश दिदै आइरहेको छ ।’

