काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक नेपाल रि इन्स्योरेन्स कम्पनीमा लगानी रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा नेपाल रि को सेयरमा मात्रै कुल ४९ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।
यसअघि कम्पनीले नेपाल रि को सेयरमा लगानी गरेको थिएन । कम्पनीले गत आवमा उक्त कम्पनीको कुल ३ लाख ९२ हजार ८०३ कित्ता सेयर खरिद गरेको जनाएको छ ।
गत आवमा कम्पनीले सूचीकृत कम्पनीको साधारण सेयरमा १ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । यो लगानी रकम अघिल्लो आवको तुलनामा १७५।४८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले सेयरबजारमा कुल ४१ करोड ८९ लाख रुपैयाँ बराबरको लगानी गरेको थियो ।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्ने दायरामा खुकुलो नीति ल्याइदिएपछि नेशनल लाइफ इन्स्योरेन्सले सेयरबजारमा उल्लेख्य लगानी बढाएको हो । यसअघि प्राधिकरणको निर्देशिका बमोजिम बीमा कम्पनीले सूचीकृत कम्पनीमा लगानी गर्दा उक्त कम्पनीको कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेकोमा प्राधिकरणले उक्त सीमा बढाएर १५ प्रतिशत पुर्याएको थियो ।
प्राधिकरणको खुकुलो नीतिपछि बीमा कम्पनीहरुले एकाएक सेयरबजारमा लगानी थप गरेका छन् । सोहीबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले पनि गत आवमा नेपाल रि इन्स्योरेन्ससहित आधा दर्जन कम्पनीको सेयर खरिद गरेको छ ।
कम्पनीले माउन्टेन इनर्जीको पनि कुल ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ । कम्पनीले माउन्टेन इजर्नीको कmुल ५९ हजार १३२ कित्ता सेयर खरिद गरेको हो ।
त्यस्तै, साहज उर्जाको ३० हजार ३५१ कित्ता सेयर १ करोड ९४ लाख २५ हजार रुपैयाँमा, नेशनल लघुवित्तको ६ हजार २५ कित्ता सेयर ८४ लाख ३५ हजार रुपैयाँमा, स्वरोजगार लघुवित्तको ४ हजार ३५२ कित्ता सेयर ४४ लाख ४३ हजार रुपैयाँमा र निर्धन उत्थान लघुवित्तको ५३० कित्ता सेयर ४ लाख ७ हजार रुपैयाँमा खरिद गरेको छ ।
त्यस्तै, कम्पनीले गत आवमा रसुवागढी हाइड्रो र सानिमा माई हाइड्रो, सानिमा मिडिल तमोरको कुल २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर भने बिक्री गरेको छ ।


