काठमाण्डौ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको हवाई सेवा व्यापक रूपमा प्रभावित भएको छ। विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान रद्द वा मोड ९डाइभर्ट० गरेका छन् भने कतिपयले अस्थायी रूपमा सेवा स्थगित गरेका छन्।
ब्रिटीस एयरवेज र भर्जिन एटलान्टिकले दुबईका दुबई इन्टरनेशनल एयरपोर्ट तथा अल माक्तोम इन्टरनेशनल एयरपोर्टमा हुने आवागमनका उडानहरू रोकिएको जनाएको छ।
बेलायतको परराष्ट्र मन्त्रालयले बहराइन, कुवेत, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) का लागि अत्यावश्यक बाहेक यात्रा नगर्न आफ्ना नागरिकलाई चेतावनी दिएको छ। त्यहाँ रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ। यो चेतावनी इरानले खाडी राष्ट्रहरूतर्फ प्रतिशोधात्मक आक्रमण गरेपछि जारी गरिएको हो।
दुबई र अबुधाबीका विमानस्थलमा भएको घटनामा एक जनाको मृत्यु भएको तथा ११ जना घाइते भएको बताइएको छ। घाइतेमध्ये चार जना म्दुबई इन्टरनेशनल एयरपोर्टका कर्मचारी रहेको जनाइएको छ।
इमिरेट्सले क्षेत्रीय हवाई क्षेत्र बन्द गरिएपछि आइतबार स्थानीय समय अनुसार दिउँसो ३ बजेसम्मका लागि आफ्ना सबै उडान स्थगित गरेको छ। त्यस्तै इतिहाडले अबुधाबीबाट हुने उडानहरू स्थानीय समय अनुसार दिउँसो २ बजेसम्मका लागि रोकेको जनाएको छ।
ब्रिटीय एयरवेजले तेल अभिभ र बहराइनका लागि बुधबारसम्मका सेवा रद्द गरेको छ। साथै लन्डनको हिथ्रो एयरपोर्टबाट अबुधाबी, अम्मान, बहराइन, दोहा, दुबई वा तेल अभिभ जाने–आउने उडान केही दिन प्रभावित हुन सक्ने जनाएको छ।
इरान, इजरायल, इराक, कतार, बहराइन, कुवेत, सिरिया र यूएईको हवाई क्षेत्र आइतबार बिहानसम्म बन्द रहेको छ। साउदी अरेबियामा आंशिक बन्द रहेको छ भने जोर्डन र लेबनानको हवाई क्षेत्र खुला भए पनि उडान गतिविधि सीमित छ।
भर्जिन एटलान्टिकले लन्डन–रियाद सेवा आइतबारका लागि स्थगित गरेको छ। यसअघि उसले लन्डन–दुबई उडानहरू पनि रद्द गरेको थियो। भारत, साउदी अरेबिया र माल्दिभ्सतर्फका उडानहरू प्रभावित क्षेत्र घुमाएर सञ्चालन गर्नुपर्दा समय बढी लाग्न सक्ने चेतावनी दिइएको छ।
कतार एयरवेजले कतारी हवाई क्षेत्र बन्द गरिएकाले राजधानी दोहाबाट हुने उडान अस्थायी रूपमा स्थगित गरेको र स्थानीय समय अनुसार साँझ ७ बजेदेखि सेवा पुनः सञ्चालन गर्ने जनाएको छ।
दुबई हुँदै लन्डन फर्किंदै गरेकी एक यात्रुका अनुसार जहाज टेकअफको तयारीमा रहँदा अन्तिम समयमा उडान रद्द गरिएको थियो। माल्दिभ्सबाट फर्किँदै गरेका अर्का यात्रुले हवाई क्षेत्र कहिले खुल्ने भन्ने स्पष्ट जानकारी नपाएको गुनासो गरेका छन्।

