काठमाण्डौ । मध्यपूर्वमा बढ्दो तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि आक्रमण गरेको घटनापछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको हो।
एशियाली बजार खुल्ने बित्तिकै सोमबार बिहान ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट अयल दुबैको मूल्य १० प्रतिशतभन्दा बढीले उकालो लागेको थियो। पछि केही सुधार देखिए पनि मूल्य उच्च नै कायम रह्यो।
बिहान करिब ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य झण्डै ९ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.३० अमेरिकी डलर आसपास पुगेको थियो। त्यस्तै, नायमेक्स लाइट स्वीट अयल करिब ८.५ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.७० अमेरिकी डलर आसपास कारोबार भएको थियो।
यसअघि शनिबार बिहान अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामा आक्रमण गरेका थिए। त्यसयता इरान र इजरायलबीच प्रतिआक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको खबर सार्वजनिक भएको छ।
साथै, इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहीम मौसवी र रक्षामन्त्री मेजर जनरल अजीज नासिरजादेह समेत मारिएको जनाइएको छ। यद्यपि यी घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी रहेको बताइएको छ।
विश्लेषकहरूका अनुसार यदि तनाव लम्बिँदै गयो र क्षेत्रीय तेल आपूर्ति मार्गहरू प्रभावित भए भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै बढ्न सक्ने सम्भावना छ। यसको प्रभाव विश्व अर्थतन्त्र, मुद्रास्फीति र इन्धन बजारमा समेत पर्ने आँकलन गरिएको छ।

