काठमाण्डौ । इजरायली रक्षामन्त्रीले बुधवार ईरानको आगामी सर्वोच्च नेतालाई पनि टार्गेट बनाइने चेतावनी दिएका छन्। इजरायलले यसअघि शनिवार ईरानमा हवाई हमला गर्दै ८६ वर्षका अयातुल्ला अली खामेनीको हत्या गरेको थियो।
इजरायली रक्षामन्त्री इजरायल काट्जले आफ्नो सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘ईरानी शासनको इजरायल, अमेरिका र क्षेत्रीय देशहरूमाथि जारी धम्की बर्दाश्त गरिने छैन। ईरानी जनतालाई दबाउन नेतृत्व गर्ने हरेक व्यक्ति इजरायलको लक्ष्यमै पर्नेछ।’
त्यस्तै, इजरायलले मंगलबार ईरानको सर्वोच्च नेता चयन गर्ने असेंबली अफ एक्सपर्ट्स भवनलाई पनि निशाना बनाएको थियो।
अली खामेनीको कुनै निश्चित वारिस नहुँदा उनका छोरा मोजतबा हुसैनी खामेनेई सम्भावित नयाँ नेता बन्न सक्ने चर्चा भइरहेको छ। हाल ईरानमा तीन सदस्यीय काउन्सिल—अयातुल्ला अलीरेजा अराफी, राष्ट्रपति मसूद पेजेशकियन, र प्रमुख न्यायाधीश गुलाम हुसैन मोहसेनी एजेई—ले सर्वोच्च नेताको चयन प्रक्रिया अगाडि बढाइरहेको छ।
शनिबारदेखि अमेरिका र इजरायलले ईरानमा निरन्तर हवाई हमला गर्दै ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको रिपोर्ट छ। यसमा एक बालिका विद्यालयमा भएका आक्रमणमा १६५ बालिकाको मृत्यु पनि समावेश छ।
ईरानले यसलाई प्रत्युत्तर स्वरूप इजरायल र खाडी क्षेत्रका अमेरिकन सैन्य ठिकानाहरूमा मिसाइल हमला गरेको छ। दुबई, अबु धाबी, कतार र बहराइनमा पनि अमेरिकी ठिकानाहरू लक्षित भएका थिए। यस घटनाले पश्चिम एशियामा व्यापक अस्थिरता सिर्जना गरेको छ।

