काठमाण्डौ । खाडी क्षेत्रको अस्थिरताबीच नेपाल–यूएई हवाई सम्पर्क पुनः सुरु हुने भएको छ। फ्लाई दुबईले आज राति दुबई–काठमाण्डौ–दुबई मार्गमा विशेष उडान सञ्चालन गर्ने तयारी गरेको छ । जसलाई अमेरिका–इरान तनावपछि पुनः सञ्चालनमा आउने पहिलो नियमित उडानमध्ये एकका रूपमा हेरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, गत शनिबार अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य कारबाहीपछि उत्पन्न सुरक्षा संवेदनशीलताका कारण खाडी क्षेत्रका नौ देशले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका थिए। त्यसको प्रत्यक्ष असर नेपाल–खाडी उडानमा परेको थियो। करिब सात वायुसेवाका ७० हाराहारी उडान रद्द हुँदा सयौं यात्रु प्रभावित भएका थिए।
यस पृष्ठभूमिमा फ्लाई दुबईको उडानलाई हवाई सेवा पुनर्स्थापनाको संकेतका रूपमा लिइएको छ। सुरक्षा मूल्यांकन र जोखिम विश्लेषणपछि यूएईका एयरलाइन्सहरूले क्रमशः सेवा पुनः सुरु गर्न थालेका हुन्।
सामान्य अवस्थामा फ्लाई दुबईले दैनिक तीन उडान नेपालमा सञ्चालन गर्दै आएको छ। तर हाल सञ्चालनमा आउने यो उडानमा ‘प्वाइन्ट–टु–प्वाइन्ट’ यात्रुलाई मात्र प्राथमिकता दिइनेछ। तेस्रो मुलुकका ट्रान्जिट यात्रुलाई समावेश नगरिने निर्णय गरिएको छ ।
एयरलाइन्सले यात्रुलाई उडान समय, टिकट अवस्था तथा अन्य विवरणका लागि सम्बन्धित कार्यालय वा ट्राभल एजेन्सीसँग प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेको छ।

