काठमाण्डौ । अन्तर्राष्ट्रिय तेल बजारमा उल्लेखनीय गिरावट देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सर्तसहितको दुई साताको युद्धविराम घोषणा गरेपछि बुधबार प्रारम्भिक एशियाली कारोबारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर भन्दा तल झरेको हो।
कारोबारको समयमा डब्लुटीआई क्रुडको मूल्य १५ प्रतिशशतले घटेर प्रति ब्यारेल ९५.६२ मा झरेको छ भने ब्रेन्ट क्रूडको मूल्य पनि १३ प्रतिशतले घट्दै प्रतिब्यारेल ९४ डलरमा कारोबार भइरहेको छ।
यो तीव्र गिरावट ट्रम्पले इरानविरुद्धका सैन्य कारबाही दुई साताका लागि स्थगित गर्ने प्रतिबद्धता जनाएपछि आएको हो। उक्त प्रस्ताव अनुसार, इरानले तुरुन्तै स्ट्रेट अफ हर्मुज मार्फत सुरक्षित आवागमन सुनिश्चित गर्नुपर्नेछ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत यो दुवै पक्षबाट हुने युद्धविराम हुनेछ भन्दै यसअघि दिएको कडा चेतावनीबाट पछि हटेको संकेत दिएका छन्।
यता, इरानका विदेशमन्त्रीले पनि अमेरिकाले आक्रमण रोकेमा इरानले आक्रमण रोक्ने र होर्मुज जलडमरूमध्यको आवागमन आफ्नै संयोजनमा सुरक्षित बनाउने बताएका छन्।
यद्यपि, क्षेत्रीय तनाव पूर्ण रूपमा समाप्त भएको छैन। खाडी क्षेत्रका केही देशहरूले अझै पनि मिसाइल प्रक्षेपण, ड्रोन गतिविधि तथा नागरिक सुरक्षासम्बन्धी चेतावनी जारी गरिरहेका छन्।
तेलको मूल्य १०० तल झरे पनि मार्च महिनामा अभूतपूर्व वृद्धि भएपछि मूल्य अझै उच्च स्तरमै रहेको छ। विशेषगरी होर्मुज जलडमरूमध्यसँग सम्बन्धित भूराजनीतिक जोखिम निकट भविष्यमा कायम रहने विश्लेषण गरिएको छ।

