काठमाण्डौं । टोरन्टोमा सम्पन्न फेडरेशन अफ क्यानाडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
सभाले गोकर्ण लामिछानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो । उनी यसअघि विजय पौडेल नेतृत्वको कार्यसमितिमा महासचिवको जिम्मेवारीमा थिए ।
विगत ६ वर्षदेखि क्यानाडामा सक्रिय यो संस्थाले नेपाल र क्यानाडाबीचको व्यापारिक तथा लगानी सम्बन्ध विस्तार र समन्वयमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि गठन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइँटेल, सचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र सुराना चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन् ।
निर्वाचन अधिकृत डा। तुलसी धरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
निवर्तमान अध्यक्ष विजय पौडेलले संस्थालाई अझ सुदृढ बनाउन सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष गोकर्ण लामिछानेले संस्थालाई अनुभव आदानप्रदान र मार्गदर्शनको साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले औपचारिकताभन्दा पनि परिणाममुखी र व्यवस्थित कामलाई प्राथमिकता दिने बताए ।
लामिछानेले आगामी दिनमा सदस्यता विस्तार अभियानलाई तीव्र बनाउने, नेपाली व्यावसायिक समुदायलाई एकीकृत गर्ने र उनीहरूका सरोकारलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य रहेको बताएका छन् ।
त्यस्तै, नेपाल र क्यानाडाबीचको व्यापारिक सम्बन्ध अझ सुदृढ बनाउन दुवै देशका सरकारसँग समन्वय गर्ने, क्यानाडामा व्यवसाय शुरु गर्न चाहने नेपालीलाई सहजीकरण गर्ने तथा व्यवसायिक सञ्जाल विस्तारमा सहयोग गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन् ।
साथै, विदेशमा रहेका नेपालीको लगानी नेपाल भित्र्याउने विषयमा संस्थाले विशेष पहल गर्ने उनको भनाइ छ ।

