काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमर पुटिनले इरानसँग सम्बन्धित जारी तनाव तथा द्वन्द्व चाँडै समाधान हुने अपेक्षा व्यक्त गरेका छन्। उनले द्वन्द्व लम्बिँदै गए सबै पक्षलाई गम्भीर क्षति पुग्ने चेतावनी समेत दिएका छन्।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले वर्तमान अवस्था अत्यन्त जटिल रहेको बताएका हुन्। उनले रुसको इरान र खाडी क्षेत्रका राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध रहेकाले परिस्थिति संवेदनशील बनेको उल्लेख गरे। ‘यो एकदमै जटिल संघर्ष हो र हामीलाई अप्ठेरो अवस्थामा धकेलेको छ ।’
इरान र अमेरिकाबीच भइरहेको वार्ताको सन्दर्भ उल्लेख गर्दै पुटिनले कुनै पनि पक्ष द्वन्द्वलाई थप चर्काउन इच्छुक नदेखिएको धारणा राखे।
यसैबीच, अब्बास अराघचीले हालै रुसको भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।
रुसले यसअघि पनि सबै पक्षलाई संयमता अपनाउन तथा शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दै आएको छ।
साथै, मस्कोले इरान र अमेरिकाबीच मध्यस्थताको भूमिका निर्वाह गर्न तयार रहेको संकेत समेत दिएको छ।

