काठमाण्डौ । नेपाल बीमा प्राधिकरण को अध्यक्ष नियुक्तिका लागि आवेदन खुला गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले सूचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिहरूबाट दरखास्त मागेको हो।
समितिका अनुसार इच्छुक उम्मेदवारले आगामी ७ दिनभित्र अर्थात् जेठ १९ गतेसम्म अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो बायोडाटा तथा आवश्यक विवरण बुझाउनुपर्नेछ।
अध्यक्ष पदका लागि आवेदन दिन चाहने व्यक्तिले बीमा, बैंकिङ, अर्थशास्त्र, व्यवस्थापन, कानुन, जनप्रशासन, गणित, तथ्यांकशास्त्र, इन्जिनियरिङ वा वाणिज्यशास्त्रजस्ता विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा न्यूनतम पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ।
त्यस्तै उम्मेदवारको नैतिक आचरण राम्रो भएको, कानुनअनुसार अयोग्य घोषित नभएको, उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी अपराधमा सजाय नपाएको, कालोसूचीमा नरहेको तथा विदेशी स्थायी बसोबास अनुमति नलिएको व्यक्ति मात्र योग्य मानिनेछन्।

