काठमाण्डौ । परराष्ट्र मन्त्रालयले पहिलो पटक खुला आवेदन आह्वानमार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन आह्वान गरेको हो।
मन्त्रालयका अनुसार राजदूत पदका लागि आवेदन दिने उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ। साथै न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तीर्ण हुनुपर्ने, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको तथा कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति प्राप्त नगरेको हुनुपर्ने उल्लेख गरिएको छ। आवेदनकर्ताका लागि मन्त्रालयले १५ बुँदे योग्यता तथा मापदण्ड तय गरेको जनाएको छ।
हाल नेपालका विदेशस्थित ४४ कूटनीतिक नियोगमध्ये १७ वटा राजदूत पद रिक्त रहेका छन्।

