काठमाण्डौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुरु गरेको सम्पत्ति छानबिन प्रक्रियाप्रति कडा आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको हिस्सा भएको आरोप लगाएका छन्।
बुधबार काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले आयोग गठनको उद्देश्य आफू र अन्य पुराना नेताहरूलाई लक्षित गर्नु रहेको दाबी गरे।
अध्यक्ष ओलीले पहिले नै आफ्नो सम्पत्ति क्षति भएको अवस्था रहेको भन्दै त्यसपछि पुनः विवरण मागिनु अन्यायपूर्ण र राजनीतिक उद्देश्यप्रेरित कदम भएको टिप्पणी गरे।
उनका अनुसार यस्तो प्रक्रिया निष्पक्ष नभई पूर्वाग्रही ढंगले अघि बढाइएको छ।
उनले सम्पत्ति छानबिन आयोगलाई आफूले मान्यता नदिने, कुनै बयान नदिने तथा सम्पत्ति विवरण पनि उपलब्ध नगराउने स्पष्ट धारणा राखे।
कार्यक्रममा उनले विगतका राजनीतिक निर्णय र अनुभव स्मरण गर्दै वर्तमान कदमलाई प्रतिशोधपूर्ण अभ्यासको निरन्तरता भएको टिप्पणी गरे।
अध्यक्ष ओलीको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा नयाँ बहस शुरु भएको छ भने सरकारका तर्फबाट यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
अध्यक्ष ओलीले आयोगलाई “फसाउने उद्देश्यले बनाइएको संरचना” को संज्ञा दिँदै यसको औचित्यमाथि प्रश्न उठाए।

