काठमाण्डौ । सरकारले कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका ६ देशका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म सम्बन्धित मुलुकमै रहन निर्देशन दिएको छ। राजदूत नियुक्ति प्रक्रिया टुंगिन ढिलाइ भएपछि सरकारले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि कार्यरत नेपाली राजदूतलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो।
सरकारको निर्णयपछि हाल बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बहराइनका लागि तीर्थराज वाग्ले, ब्राजिलका लागि निर्मलराज काफ्ले, म्यानमारका लागि हरिश्चन्द्र घिमिरे, अस्ट्रियास्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगका स्थायी प्रतिनिधि भरत रेग्मी र इजिप्टका लागि नेपाली राजदूत सुशील लम्साल आफ्नो जिम्मेवारीमै रहने भएका छन्।
सामान्यतया कार्यकाल पूरा भएपछि राजदूतहरू स्वदेश फर्कने र नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने भए पनि नयाँ राजदूत चयनमा समय लागेपछि कूटनीतिक निरन्तरता कायम राख्न सरकारले उनीहरूलाई जिम्मेवारीमै रहने व्यवस्था गरेको हो।

