काठमाण्डौँ । बैंकिङ अनियमितता तथा कर्जा दुरुपयोग सम्बन्धी आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार धनुषाबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार पाण्डेमाथि महोत्तरीमा स्थापना गरिएको एक कम्पनीमार्फत बैंकबाट कर्जा प्राप्त गरी त्यसको प्रयोग तोकिएको उद्देश्यभन्दा बाहिर गरेको आरोप छ।
अनुसन्धानका क्रममा कर्जा स्वीकृतिका लागि आवश्यक कागजात तथा धितो मूल्यांकन प्रक्रियामा समेत अनियमितता भएको आशंका गरिएको छ।
उच्च अदालत पाटनबाट जारी पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा रहेको जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको जनाएको छ।
पाण्डे स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा संलग्न व्यवसायीका रूपमा परिचित छन्। उनी राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्षका साथै जानकी मेडिकल कलेजका अध्यक्षसमेत हुन्।
प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

