काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते धादिङको नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।
सभामा सेयर संरचना परिवर्तन गर्ने र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यससम्बन्धी नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानूनको अधिनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा वित्तीय संस्थाको समुह ‘क’ संस्थापक शेयरधनीहरू मध्येबाट ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने, समुह ‘ख’ सर्वसाधारण सेयरधनीहरू मध्येबाट रिक्त रहेको १ जना सञ्चालकको बाँकी कार्यकालको लागि निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनको संस्थाले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् ।

