काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकको सम्भावित कार्यसूचीअनुसार विभिन्न वार्षिक प्रतिवेदन पेस तथा विधेयकसम्बन्धी व्यवस्थापन कार्य अघि बढाइनेछ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सरकारले अघि बढाएका विधेयकसम्बन्धी कार्यसूचीअन्तर्गत मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

