काठमाण्डौ । उपभोक्ता सुरक्षालाई प्राथमिकता दिँदै गरिएको बजार अनुगमनका क्रममा काठमाण्डौ उपत्यकाका तीन व्यवसाय कारबाहीमा परेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता हितविपरीत गतिविधि गरेको भन्दै ती व्यवसायलाई कुल २ लाख २५ हजार रुपैयाँ जरिबाना गरेको हो।
विभागको मंगलबारको अनुगमनमा खाद्य सुरक्षासँग सम्बन्धित गम्भीर लापरबाही भेटिएपछि काठमाण्डौ महानगरपालिका–३२, तिनकुनेस्थित मट्का बिरयानी क्लाउड किचनलाई सबैभन्दा ठूलो कारबाही गरिएको छ। अनुगमन टोलीले उक्त किचनमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखिएको पाएपछि २ लाख रुपैयाँ जरिबाना गरेको जनाएको छ।
विभागले खरिदसम्बन्धी कागजात नराख्ने दुई व्यवसायलाई समेत कारबाही गरेको छ। काठमाण्डौ महानगरपालिका–७ गणेशस्थानस्थित इलाभेन इलाभेन ओयर्सलाई २० हजार रुपैयाँ तथा सोही वडाको चाबहिलस्थित फुयाल खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको हो।
अनुगमनका क्रममा व्यवसाय सञ्चालनसम्बन्धी आवश्यक कागजात अद्यावधिक नराखेको आशंकामा ललितपुर महानगरपालिका–२ सानेपास्थित तः नानी ट्रेडिङ कम्पनी प्रालिलाई थप विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
कम्पनीलाई दर्ता प्रमाणपत्र, प्यान, खरिद–बिक्री बिल, कर चुक्तालगायतका कागजात तीन दिनभित्र बबरमहलस्थित विभागीय कार्यालयमा बुझाउन भनिएको छ।
विभागका अनुसार अनुगमन गरिएका १३ उद्योग तथा फर्ममध्ये बाँकी ९ वटा व्यवसायलाई सुधारका लागि निर्देशन दिइएको छ।

