काठमाडौँ । पृथ्वीको झुकाव र उत्तरी गोलार्धमा गर्मीयाम चलिरहेको समयका कारण बुधबार विश्वको झन्डै ९९ प्रतिशत जनसंख्याले एकै समयमा उज्यालो वा गोधूलि साँझको अनुभव गर्ने बताइएको छ।
करिब ८ अर्ब २० करोड मानिसले अनुभव गर्ने यो दुर्लभ खगोलीय अवस्था ग्रिनविच मिन टाइम ९जीएमटी० अनुसार बिहान करिब ११ः१० बजे हुनेछ। नेपाली समयअनुसार भने यो अपराह्न ५ बजेर ५ मिनेट जाँदा पर्नेछ।
करिब एक मिनेट मात्र रहने यस छोटो अवधिमा पृथ्वीका सबैभन्दा धेरै जनसंख्या बसोबास गर्ने क्षेत्रमा घाम लागिरहेको वा गोधूलि उज्यालो रहनेछ। सो समयमा विश्वका अत्यन्तै थोरै मानिसले मात्र पूर्ण रातको अनुभव गर्नेछन्।
उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका र एसियाका अधिकांश भूभागमा यस बेला उज्यालो वा साँझपखको प्रकाश रहनेछ। विश्वको धेरै जनसंख्या यी क्षेत्रमै बसोबास गर्ने भएकाले यो क्षणलाई रोचक खगोलीय संयोगका रूपमा हेरिएको छ।
यद्यपि, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण–पूर्वी एसियाका केही भाग, अन्टार्कटिका र आसपासका महासागरीय क्षेत्रमा भने सो समयमा अँध्यारो हुनेछ।

