काठमाडौँ । राहदानी विभागले असार २५ र २६ गते राहदानीसम्बन्धी नियमित सेवा स्थगित गर्ने भएको छ। हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारी अन्तिम चरणमा पुगेकाले दुई दिनका लागि नियमित सेवा बन्द गर्न लागिएको विभागले जनाएको छ।
तर, विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सो अवधिमा पनि सुचारु रहनेछ। विभागले मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीलाई असार २५ र २६ गते विभागमा सम्पर्क गरी राहदानी लिन अनुरोध गरेको छ।
विभागका अनुसार आगामी असार २९ गतेदेखि राहदानी सेवा हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी गरिएको छ। प्रणाली स्तरोन्नतिपछि सेवा प्रवाह थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने विभागको भनाइ छ।
विभागले यसअघि असार १९ गते नै सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण सेवा प्रभावित हुने जानकारी गराएको थियो।

