काठमाण्डौ । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डको निर्माण अवधि चौथोपटक थप गरिएको छ। तेस्रोपटक थपिएको समयसीमा पनि पूरा हुन नसकेपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म काम सम्पन्न गर्ने अन्तिम समय दिइएको हो।
यसअघि थपिएको म्याद असार १५ गतेसम्म रहेको थियो। तोकिएको अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः समय थप गरिएको हो। यसपटक थपिएको अवधि अन्तिम हुनेछ र सोही समयभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालन भइरहेको पृथ्वीराजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८.७१ किलोमिटर सडक पश्चिम खण्डमा पर्छ। उक्त खण्डमा बजार क्षेत्रमा छ लेन र पहाडी क्षेत्रमा चार लेन सडक निर्माण भइरहेको छ।
आयोजनाका अनुसार हालसम्म पश्चिम खण्डको ८२.३७ प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण ढिलाइ हुनुमा वर्षाका कारण चैत–वैशाखमा काम प्रभावित हुनु, मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या आउनु तथा निर्माण सामग्रीको मूल्य वृद्धि हुनु प्रमुख कारण रहेको आयोजनाले जनाएको छ।
हाल करिब १० किलोमिटर सर्भिस लेन निर्माण, ट्राफिक सुरक्षा संरचना, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडानको काम बाँकी रहेको छ।
पोखरा विश्वविद्यालय अगाडिको एकतर्फी कालोपत्रे तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक विद्युत् पोल स्थानान्तरण हुन नसक्दा केही क्षेत्रमा सर्भिस लेन निर्माण प्रभावित भएको छ।
पश्चिम खण्ड निर्माणका लागि चिनियाँ कम्पनीसँग रु ७ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको थियो। सम्झौता २०७८ जेठ २ गते भएको र निर्माण कार्य २०७८ भदौ १२ गतेदेखि सुरु गरिएको थियो।

