काठमाण्डौ । धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गर्दै कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले मधेस प्रदेश सरकारद्वारा निर्धारण गरिएको ‘बफर’ कोटाको मल वितरण सुरु गरेको छ।
स्थानीय तहको सिफारिसका आधारमा युरिया र डिएपी मल वितरण सुरु गरिएको हो। मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयअनुसार स्थानीय तहगत रूपमा निर्धारण गरिएको बफर कोटाअन्तर्गत मल बिक्री वितरण भइरहेको छ ।
मल वितरण सुरु भएसँगै जिल्लामा केही समययता देखिएको डिएपी मलको अभाव क्रमशः कम हुँदै गएको छ। साउनको दोस्रो सातासम्म थप युरिया र डिएपी मल आइपुग्ने भएकाले जिल्लामा मलको अभाव पूर्ण रूपमा हट्ने अपेक्षा गरिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले पछिल्लो एक वर्षमा १८ हजार ७४५ दशमलव १ मेट्रिक टन रासायनिक मल किसानलाई वितरण गरेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा युरिया ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन, डिएपी ६ हजार ९६३ दशमलव ३०० मेट्रिक टन, पोटास ३७९ दशमलव ५५० मेट्रिक टन र कृषि चुन १६० दशमलव ९०० मेट्रिक टन वितरण गरिएको छ।
उक्त अवधिमा कार्यालयले युरिया १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन, डिएपी ७ हजार २८९ मेट्रिक टन, पोटास ४६३ मेट्रिक टन र कृषि चुन २३५ मेट्रिक टन प्राप्त गरेको जनाएको छ। प्राप्त मलमध्ये अधिकांश किसानसम्म पुगिसकेको कार्यालयको भनाइ छ।

