काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुशासनको नाममा गलत काम गर्ने अधिकार कसैलाई नभएको बताएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा थापाले सरकार संवैधानिक निकायलाई दबाबमा राख्ने दिशामा अघि बढेको आरोप लगाए।
प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई कालो चस्मा र कालो वस्त्र लगाउन छुट छ, तर काला कर्तुत गर्न छुट छैन। यो विषय हामीले संसद्मा पनि उठाउँदै आएका छौँ।’
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो सचिवालयअन्तर्गतको निकायजस्तो बनाउन खोजेको आशंका व्यक्त गरे।
‘के प्रधानमन्त्रीले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको हो?’ उनले प्रश्न गरे, ‘सरकारले यसको स्पष्ट जवाफ दिनुपर्छ। अख्तियार संविधानप्रति उत्तरदायी हुन्छ, सरकारको दबाबमा चल्ने निकाय होइन।’
प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई धम्क्याएको भन्ने सञ्चारमाध्यममा आएका समाचारबारे पनि सरकारले प्रस्ट पार्नुपर्ने थापाको भनाइ थियो।
‘समाचार गलत हुन् भने सम्बन्धित सञ्चारमाध्यममाथि कारबाही गर्नुस्,’ उनले भने, ‘समाचार सत्य हुन् भने सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ। नेपालको सरकार संविधानअनुसार चल्छ कि चल्दैन भन्ने हाम्रो मुख्य प्रश्न हो।’
सभापति थापाले पार्टीभित्र आफूविरुद्ध भइरहेको आलोचनाप्रति पनि व्यङ्ग्य गरे। बीपी स्मृति दिवसको नाममा आफ्नो आलोचना गर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गर्दै उनले त्यस्ता अभिव्यक्तिलाई बेवास्ता गरेको बताए।
‘बीपी स्मृति दिवसका नाममा गगन थापा निन्दा प्रतियोगिता चलेको रहेछ,’ उनले भने, ‘त्यो सुन्नुभन्दा नसुन्नु नै उपयुक्त ठानेर मैले बेवास्ता गरेँ।’
थापाले नेपाली कांग्रेस एउटा राजनीतिक दलमात्र नभई राष्ट्रिय शक्ति भएको दाबी गरे। पार्टीलाई प्रविधि, आधुनिक सोच र नयाँ पुस्ताको भावनाअनुसार रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए।
‘हामीसँग सङ्गठन, नीति र उद्देश्य छन्,’ उनले भने, ‘अब पुराना साथीहरूको सम्मान गर्दै नयाँ पुस्तालाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्याउनुपर्छ।’

