काठमाण्डौ । इन्डोनेसियाबाट बालबालिका तस्करी गरी सिंगापुरमा धर्मपुत्र–धर्मपुत्रीका रूपमा बिक्री गर्ने गिरोहका १९ सदस्यलाई इन्डोनेसियाको अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।
बीबीसीका अनुसार उक्त गिरोहले कम्तीमा ३४ बालबालिकाको अवैध कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। तीमध्ये कम्तीमा १२ जनालाई सिंगापुर पुर्याएर धर्मपुत्र वा धर्मपुत्रीका रूपमा बिक्री गरिएको पाइएको हो।
अदालतको फैसलापछि तस्करीमार्फत सिंगापुर पुगेका बालबालिकाको कानुनी हैसियत र भविष्यलाई लिएर अन्योल बढेको छ। ती बालबालिकालाई अपनाएका परिवारहरूले भने आफूहरू पनि गिरोहबाट ठगिएको बताएका छन्।
डेभिड नाम परिवर्तन गरिएका एक अभिभावकले मुद्दा टुंगिएपछि आफ्नो छोराको भविष्य के हुने भन्ने चिन्ताले परिवार लामो समयदेखि तनावमा रहेको बताएका छन्। अभिभावकहरूका अनुसार उनीहरूले सबै कानुनी प्रक्रिया पूरा गरेरै बालबालिका अपनाएको ठानेका थिए। बालबालिका तस्करीमार्फत ल्याइएको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको उनीहरूको भनाइ छ।
अनुसन्धानका क्रममा गिरोहले नक्कली जन्मदर्ता तथा अन्य कागजात तयार गरेको पाइएको छ। बच्चाको जन्मदर्तामा गिरोहकै सदस्यलाई आमाबुबाका रूपमा उल्लेख गरी सिंगापुर पठाउने गरिएको खुलेको हो।
इन्डोनेसियाका बालअधिकारकर्मी तथा केही सरकारी अधिकारीहरूले तस्करीमा परेका बालबालिकालाई स्वदेश फर्काउनुपर्ने धारणा राखेका छन्। तर सिंगापुरमा कानुनी रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरिसकेपछि उक्त प्रक्रिया रद्द गर्न जटिल हुने कानुनविद्हरू बताउँछन्।
पीकेडब्लूए ल प्राक्टिसका निर्देशक डेरेक चूका अनुसार सिंगापुरमा अदालतबाट जारी भएको ‘एडप्सन अर्डर’ सामान्यतया अन्तिम मानिन्छ।
विज्ञहरूले कानुनी निर्णय गर्दा बालबालिकाको सुरक्षा, मानसिक अवस्था र उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
सिंगापुर र इन्डोनेसियाका सरकारले बालबालिकाको भविष्यबारे ठोस निर्णय सार्वजनिक गरेका छैनन्। इन्डोनेसियाको विदेश मन्त्रालयले बालबालिकाको कानुनी हैसियत र जैविक आमाबुबाको पहिचानबारे थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।

