काठमाण्डौ । काठमाडौंमा एक वर्षको अवधिमा २ हजार ५२८ वटा विरोध प्रदर्शन भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा राजधानीमा विभिन्न माग र मुद्दालाई लिएर उक्त संख्यामा विरोध प्रदर्शन भएका हुन्।
ती प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन ३९ हजार ८५४ प्रहरी परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार सोही अवधिमा नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका ठूला खेलकुद तथा सार्वजनिक कार्यक्रमको सुरक्षा व्यवस्थापनसमेत गरिएको थियो। ती कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति अपनाइएको परिसरले जनाएको छ।
यसै आर्थिक वर्षमा भएको जेनजी आन्दोलनका क्रममा भने प्रहरीतर्फ ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। आन्दोलनका बेला सुरक्षाकर्मी, प्रहरी संरचना तथा उपकरणमा समेत क्षति भएको परिसरको भनाइ छ।

