काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनहरुको व्यापार प्रभावित हुने गरी राष्ट्रबैंकले लिएको नीति परिवर्तन हुनसक्ने संकेत गरेका छन् ।
नेपाल राष्ट्रबैंकले मौद्रिक समीक्षामार्फत विद्युतीय सवारीहरुको लोन टू भ्यालू रेसियो(एलटीभी) ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारिदिएको व्यवस्था संसोधन हुनसक्ने संकेत गरेका हुन् ।
नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले मंगलबार आयोजना गरेको नाडा अटो डाइलगलाई सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले भने-'राष्ट्रबैंकले अर्धवार्षिक समीक्षामार्फत इभीको लोन टू भ्यालु रेसियो घटाउँदा अटो व्यवसायीहरु असन्तुष्ट रहनुभएको सरकारलाई राम्रो जानकारी छ । जहाँसम्म ८०÷६० को विषय छ, यो पनि ठूलो विषय होइन । यो नीति ढुंगाको अक्षर पनि होइन, छलफल गरेर मिलाउन सकिन्छ ।'
अर्थमन्त्रीले विद्युतीय सवारीको विषयमा राष्ट्रबैंकले पछिल्लो समय लिएको नीतिमा आफूहरुको कुनै हस्तक्षेप नरहेको समेत दाबी गरे । राष्ट्रबैंक स्वायत्त निकाय भएको र ऊ आफैंले अवस्था मूल्याङ्कन गरेर यस्तो नीति लिएको समेत उनको प्रष्टोक्ति थियो ।