काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले सेयर बजारको अन्तिम १५ मिनेटको औसतका आधारमा सूचक गणना गर्ने विषयमा आवश्यक निर्देशन दिन प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नेप्सेको बिहीबार साँझ बसेको बोर्ड बैठकले अन्तिम १५ मिनेटको औसतको विषयमा निर्देशन जारी गर्न अनुरोध गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
अब धितोपत्र बोर्डले यस विषयमा आवश्यक निर्देशन दिनेछ । धितोपत्र बोर्डले समेत अन्तिम १५ मिनेटको औसत सम्बन्धी हालको व्यवस्था हटाउनका लागि आवश्यक निर्णय गर्न शनिवार(भोलि) सञ्चालक समितिको बैठक बोलाएको छ ।
नेप्सेबाट जाने लिखित अनुरोध सो बैठकमा पेश हुने र सोही आधारमा बोर्डले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियम हटाउन नेप्सेलाई आवश्यक निर्देशन दिनेछ ।
लगानीकर्ताहरुले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियमका कारण आफूहरुको मनोबल खस्किएको भन्दै हटाउन माग गर्दै आएका छन् । यो विषयमा केही समयअघि धितोपत्र बोर्डले पनि एक अध्यन समिति समेत बनाएर काम गरिरहेको थियो ।
जेनजी आन्दोलनका कारण केही दिन बन्द भई हिजो(बिहीबार) खुलेको बजार एकपछि अर्को नेगेटिभ सर्किट लाग्दै ६ प्रतिशतले घटेपछि चाँडै बन्द भएको थियो । केही मिनेटको अन्तरालमा नेप्से १६०.३३ अंकले घटेको थियो भने लगानीकर्ताले २ खर्ब बढी सम्पत्ति गुमाएका थिए ।
यो दिन बजारका लगानीकर्ता बढी नै अत्तालिएका कारण खरीद गर्ने अत्यन्त न्यून र बिक्री गर्नेको लहर नै देखिएको थियो ।
बजारमा प्यानिक अवस्था आएपछि लगानीकर्ताहरुले १५ मिनेट सम्बन्धी नियम तत्काल खारेज हुनुपर्ने भन्दै धितोपत्र बोर्ड पुगेर धर्ना दिएका थिए ।
त्यहाँ पुगेका लगानीकर्तालाई सोबेला अर्थमन्त्रालयमा रहेका धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले माग सम्बोधन हुने वचन दिएपछि उनीहरु फर्किएका थिए ।
अध्यक्ष श्रेष्ठले लगानीकर्ताहरुलाई सम्बोधन गर्दै भनेका थिए ः आइतबार बजार खुल्नुअघिसम्म १५ मिनेटसम्बन्धी अहिलेको व्यवस्था हट्छ ।