काठमाण्डौं । विशाल बजार कम्पनीको स्थापना २०२६ जेठ २९ गते भएको थियो । तत्कालीन राजा महेन्द्रले विदेश जाँदा ठूला डिपार्टमेन्टल स्टोर देखेपछि नेपालमा पनि एकै ठाउँमा आधुनिक भवनमा किनमेल गर्न सहज होस् र व्यावसायिक गतिविधि बढोस् भन्ने अभिप्रायले विशाल बजारको स्थापना गर्न लगाएका थिए ।
विसं २०२६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा, राजदरबारका सचिव इन्द्रमणि राजभण्डारी र व्यवसायी जुद्धबहादुर श्रेष्ठलाई बोलाएर एउटा सुसङ्गठित बजार स्थापना गर्ने इच्छा व्यक्त गरेपछि बागमती अञ्चलाधीश विष्णुमणि आचार्य, जुद्धबहादुर श्रेष्ठ र इन्द्रमणि राजभण्डारी सम्मिलित टोलीले सुरुमा अञ्चलाधीश नै सञ्चालक समितिका अध्यक्ष वा सञ्चालक हुनेगरि प्रबन्ध पत्र नियमावली बनाएको थियो ।
त्यतिबेला यसमा सबै लगानी गर्ने हैसियत र तत्परता निजी क्षेत्रको नभएकाले केही सरकारी संस्थानहरूलाई पनि लगानी गर्न लगाइएको थियो । हाल यो कम्पनी पब्लिकमा रुपान्तरण भएर नेप्समा कारोबार समूहमा सूचिकृत रहेको छ ।
आधारभूत पक्षः
हाल कम्पनीको चूक्तापूँजी ५ करोड रुपैंया रहेको छ भने जगेडा कोषमा ७९ करोड २६ लाख ६० हजार रुपैंयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २५०.२५ रुपैंयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १६८५.३२ रुपैंयाँ रहेको छ ।
त्यसैगरि, प्रतिसेयर कुल सम्पति १६८५ रुपैंयाँ रहेको छ । यस कम्पनीमा ९८.९६ प्रतिशत स्वामित्व संस्थापक समूह र १.०४ प्रतिशत सर्वसाधारण समूहको रहेको छ ।
प्राविधिक पक्षः
बुलिस फ्ल्याग प्याटर्न
प्राविधिक रुपमा बुलिस फ्ल्याग प्याटर्न बनेको कम्पनी तथा सेयरको सूचकमा बुलिस निरन्तरता नै रहेको भन्ने हो । जहाँ सेयर तथा सूचकको मूल्य केही समयलाई डाउन ट्रेण्ड तथा साइडवेज जस्तो पनि देखिन्छ । यस्तो प्यााटर्नमा जब मूल्य तथा सूचकले माथिल्लो ट्रेन्डलाईनलाई ब्रेक गरेर अप ट्रेन्ड लाग्छ त्यसपछि कारोबारीहरुले इन्ट्रीको राणनीति लिन सक्छन् । यस्तो प्याटर्नमा फ्ल्याग पोलमा भोल्यूम तथा कारोबारमा स्ट्रङ हुन सक्छ भने फ्ल्यागमा केही कमजोर पनि हुनसक्छ ।
यस अधारमा यो कम्पनी हाल बुलिस फ्ल्याग प्याटर्नमा रहेको देखिन्छ ।
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको मुल्य हाल तल्लो ब्याण्डमा चलेको छ । त्यसैगरि, अपर ब्याण्ड र लोवर ब्याण्डको दूरी बढेको छ । यसले कम्पनीको सेयर भ्यालूमा उतारचढाव आएको बुझिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेका छन तर हिस्टोग्राम फिक्का हुँदै गएका छन् । आरएसआई हाल ओभर सोल्ड जोनबाट फर्केको अबस्थामा रहेको छ । यसले यो कम्पनीको सेयर मुल्यमा करेक्सन आएर सुधार हुँदै गरेको बुझिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ६७४८
प्रतिरोध २ – ६४३४
प्रतिरोध १– ५४०३
पिभट् प्वइन्टः ५५८९
घटेमा सपोर्ट
सपोर्ट १– ५०५८
सपोर्ट २– ४७४४
सपोर्ट ३ –४२१३

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी मजबुत नै रहेको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी २५०.२५ रुपैंया रहेको छ भने बुक भ्यालू १ हजार ६८५ रुपैंयाँ रहेको छ ।
त्यसैगरि, प्रतिसेयर कुल सम्पति पनि २ हजार २०४ रुपैंयाँ रहेको छ । प्राविधिक रुपमा विभिन्न इन्डिकेटरबाट नियाल्दा लामो समयको करेक्सन पछि सम्हालिदै गरेको देखिन्छ । यस हिसाबले यो कम्पनीको सेयर मूल्य आगामी दिनमा थप सुधार हुन सक्ने सम्भावना रहन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।