काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘दुई दिनको लिला’ भन्दै कडा आलोचना गरेका छन्। सम्पादकहरूसँगको एक अन्तर्क्रियामा उनले सरकारको कार्यशैली, आफूमाथिको पासपोर्ट रोक्का र सुरक्षामा कटौतीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।
ओलीले आफूलाई ‘जेनजी’ पुस्ताकै हिस्सा भएको बताउँदै देश बनाउन आफूले अनेक बाधा–अवरोध झेलेको उल्लेख गरे। “म अँध्यारो मुख लगाएर हिँड्छु? देश र जनताप्रति मेरो समर्पण कसैले दुख दिँदा कम हुँदैन,” उनले भने। उनले झापामा आफ्नो परिवारको घरमा भएको आगजनीको प्रसंग उठाउँदै प्रश्न गरे, “मेरो हजुरबुबा–हजुरआमाले बनाएको घर, २३ वर्षअघि बेचेको घरमा आगो लगाइयो। सान्त्वना दिन पनि जान नपाउने? यो कस्तो सरकार हो?”
उनले पासपोर्ट रोक्का गरिएकोप्रति आक्रोश व्यक्त गर्दै भने, “नेपालमा नहुने रोग लागे बाहिर जानुपर्छ। तर, पासपोर्ट रोक्का? म लुकेर त जाँदिनँ।” ओलीले सरकारले आफ्नो सुरक्षा खोसिएको तर वडाध्यक्ष र मेयरहरूलाई सुरक्षा बढाइएको भन्दै सरकारको ‘न्याय’ माथि प्रश्न उठाए। “मलाई मार्न ४ हजार तयार थिए, मैले बचाइदिएँ। तर, मेरो सुरक्षा खोसिन्छ, अनि अरूलाई बढाइन्छ? यो कस्तो न्याय हो?” उनले गुनासो गरे।
ओलीले सरकारको यस्तो रवैया जारी रहे जनताले पुनः आफूलाई प्रधानमन्त्रीको रूपमा रोज्ने दाबी गरे। “तपाईंहरूले सम्पादकीय लेख्नुहुनेछ– केपी ओलीलाई फिर्ता ल्याऊ!” उनले ठोकुवा गरे। यो भनाइले सरकार र ओलीबीचको तनावलाई थप उजागर गरेको छ।