काठमाण्डौ । तेह्र दिनअघि अलटाईम हाईको रेकर्ड बनाएको सुनको मूल्य यो अवधिमा ८.४१ प्रतिशतले घटेको छ ।
असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँको अलटाईम हाईको विन्दूमा पुगेको थियो । सो दिन १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको थियो ।
बुधबार(कात्तिक १२ गते) भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ३६ हजार ३०० तथा प्रति १० ग्राम २ लाख २ हजार ५९० रुपैयाँमा सीमित बन्न पुगेको हो । यसरी १३ दिनअघि सुनमा लगानी गर्नेले छोटो अवधिमै ८.४१ प्रतिशत सम्पत्ति गुमाएका छन्।
मंगलबार मात्र सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार तथा प्रति १० ग्राम २ लाख ३ हजार १९० कायम भएको थियो ।
अघिल्लो दिनको तुलनामा सुन प्रतितोलामा ७०० रुपैयाँले मूल्य घटेको छ ।
यो १३ दिनको अवधिमा सुनमा भन्दा चाँदीमा लगानी गर्नेहरुले धेरै गुमाएका छन् । असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३ हजार ३५० रुपैयाँको अलटाईम हाईमा पुगेको थियो । आज(बुधबार)सम्म आइपुग्दा चाँदीको मूल्य घटेर प्रतितोला २ हजार ९६५ कायम भएको छ । यसरी चाँदीमा लगानीकर्ताले १३ दिनको अवधिमा ११.४९ प्रतिशतले सम्पत्ति गुमाएका छन् ।

