आईतवार, माघ ११,२०८२ 07:54:27
Bizshala
  • आईतवार, माघ ११,२०८२ 07:54:27
Bizshala
Global IME Bank Limited
Bizshala

Ground Zero: ब्रोकर हाउसमा चुनावी बहस: लगानीकर्ताको भोट कसलाई ?

Ground Zero: ब्रोकर हाउसमा चुनावी बहस: लगानीकर्ताको भोट कसलाई ?
Shivam Cement

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किँदै आएका छौं । आज पनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरूमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरूको विचार बुझ्ने प्रयास गरेका छौं ।

आज हामीले घट्टेकुलो, अनामनगर र न्यूप्लाजा आसपासका केही ब्रोकर हाउसहरूमा पुगेर लगानीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं । गत सातादेखि बजार बढ्नका लागि मुभमेन्ट बनाउन थालेपछि सेयर लगानीकर्ताहरूमा उत्साह बढ्न थालेको छ । सोही कारण आज बजार खुलेको केही समयमै हरियो रङले पोतिएको थियो । बजार बढेकाले लगानीकर्ताहरूमा रौनक छाएको देखिन्थ्यो ।

Bizshala
Garima Development Bank
New Office

सर्वप्रथम हामी न्यूप्लाजामा रहेको दिव्या सेक्युरिटिज (ब्रोकर नं. ५९) मा पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरूको उपस्थिति सामान्य नै देखिन्थ्यो । लगानीकर्ता र उक्त ब्रोकर हाउसका कर्मचारीहरू विभिन्न स्क्रिप्टका विषयमा गफ गर्दै थिए । राजनीतिक विषयसँगै समग्र सेयरबजारको अवस्था कस्तो रहला भन्ने विषयमा लगानीकर्ताहरू बहस गर्दै थिए । एकजना लगानीकर्ता भने आफ्नो सेयर बढेको खुशी व्यक्त गर्दै थिए ।

सेयरबजार बढ्ने क्रम जारी थियो । हामी उक्त ब्रोकर हाउसबाट निस्किएर दोस्रोमा घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरूको उपस्थिति बाक्लो नै थियो । लगानीकर्ताहरू समग्र सेयरबजारका विभिन्न स्क्रिप्टका विषयमा बढी गफ गर्दै थिए ।

लगानीकर्ताहरूमा हाइड्रो कम्पनी र नयाँ कम्पनीहरूको चर्चा हुँदै थियो । एकजना लगानीकर्ताले भने, ‘राधी विद्युत् कम्पनीको सेयर पनि बढेछ, अरू सस्ता सस्ता हाइड्रोपावर कम्पनीहरू किनेर राख्नुपर्ने रहेछ, अब सेयरबजार बढ्छ जस्तो छ ।’ उनले थपे, ‘नयाँ कम्पनीहरू पनि निकै बढिरहेका छन्, सेलमा आएकै छैनन्, किन्नका लागि अर्डरमा राख्दा पनि पाइँदैन, नयाँ कम्पनी किन्न पाए पनि फाइदा हुन्थ्यो कि भनेको ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले पनि अब सेयरबजार बढ्दै जाने र सस्ता कम्पनीहरू किनेर राख्दा फाइदा हुने बताए ।

त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) मा पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सेयरबजार उच्च अंकले बढे पनि लगानीकर्ताहरूबीच समग्र राजनीतिक विषयमा नै बढी गफगाफ चलिरहेको थियो । आउँदै गरेको चुनाव र विभिन्न दलहरूमध्ये कसलाई भोट दिँदा राम्रो होला भन्ने विषयमा लगानीकर्ताहरू छलफल गरिरहेका थिए ।

केही पक्षले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिने धारणा व्यक्त गरे पनि केही पक्षका लगानीकर्ताहरू भने अन्य दललाई नै मत दिने राय व्यक्त गरिरहेका थिए । एकजना लगानीकर्ताले भने पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन शाहको प्रवेशसँगै पार्टीका सभापति रवि लामिछाने ओझेलमा पर्दै गरेको बताए ।

‘जताततै रास्वपा र बालेनकै कुरा आइरहेको छ, तर रास्वपाकै सभापति रवि लामिछाने भने अहिले गुपचुपमा छन्, उनी ओझेलमा पर्न थाले,’ उनले भने, ‘अब आम जनताले रास्वपालाई अहिले समर्थन गरिरहेका छन्, नयाँलाई जिताएर हेरौं केही गर्छन् भन्ने आशावादीमा जनता छन् ।’

उनको कुरालाई असमर्थन जनाउँदै एक महिला लगानीकर्ताले भने आफूले रास्वपालाई मत नदिने धारणा व्यक्त गरिन् । ‘मलाई त नयाँ आएका उम्मेदवारहरूमा झन् विश्वास लाग्दैन, राजनीति राम्रोसँग नबुझेका पनि उम्मेदवार छन्, उनीहरूले देश बनाउलान् भनेर कसरी विश्वास गर्नु,’ उनले भनिन्, ‘हामी जनताले राष्ट्रको ढुकुटी कुन–कुन पार्टीले चाख्न दिने त ? मत बरु रविन्द्र मिश्र नै विश्वासिलो लाग्छ, उसैलाई भोट दिने विचारमा छु ।’

उक्त ब्रोकर हाउसमा रास्वपाका समर्थक र रास्वपा विरोधीबीच राय बाझिएको थियो । लगानीकर्ताहरू फलानोलाई मत दिँदा राम्रो हुने र फलानोलाई दिँदा आफूहरूको मागहरू सम्बोधन हुन नसक्ने जस्ता अनुमान लगाइरहेका थिए ।

त्यत्तिकैमा एकजना लगानीकर्ता आइपुगे । उनी आउने बित्तिकै अर्का लगानीकर्ताले यसपटक धेरैजसो लगानीकर्ताले घण्टीमा मत खसाल्ने भन्दै छन्, तर तपाईंको के छ विचार भन्दै प्रश्न गरे ।

उनको प्रश्नको जवाफ दिँदै ती लगानीकर्ताले ठट्यौली पारामा भने, ‘अब हिन्दु धर्म मान्नेहरूले घण्टी नै बजाउने त होला नि, जताततै उनीहरूकै चर्चा छ,’ उनले थपे, ‘तर पहिला नेकपा माओवादीको पनि यसरी नै चर्चा भएको थियो, पछि उनीहरू पछारिए, अहिले रास्वपा पनि जसरी माथि उचालिरहेका छन्, पछि त्यसरी नै पछारिन सक्छन् ।’

उनको कुरा भुइँमा खस्न नपाउँदै अर्की महिला लगानीकर्ताले यसअघिका ठूला दलहरूले सरकारमा आएर पनि खासै केही गर्न नसकेको विरोध गरिन् । ‘मेरो त अब आशा रास्वपामा नै छ, यसअघिका दलहरूले सरकारमा आएर पनि केही गर्न सकेनन्,’ उनले सुनाइन्, ‘झन् नेकपा एमालेले त यसअघि चुनाव सकिएपछि पुरै भोटरहरूलाई मासु भात खुवाउने गरेको थियो । जनता पनि उस्तै थिए, मासु भातमा बिक्ने, तर अब सबै सचेत भइसकेका छन् ।’

एकछिनपछि कुनामा बसेका लगानीकर्ताले स्क्रिन बोर्डतर्फ आँखा लगाउँदै ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको कुरा सुनाए । ‘राजनीतिक कुरा गर्दागर्दै स्क्रिनतर्फ हेर्नै बिर्सिएछ, हेर्नु त साथीहरू, ८ वटा कम्पनीको सेयरमा सर्किट लागिसकेछ,’ उनले भने, ‘अब चुनाव हुने नै भइहाल्यो, जुन सरकार आए पनि सेयरबजारको लागि राम्रो हुन पर्यो, मेरो माग त त्यति हो ।’

उनको कुरालाई समर्थन जनाउँदै महिला लगानीकर्ताले थपिन्, ‘बजार विस्तारै बढ्दै गइरहेको छ, यसरी नै विस्तारै–विस्तारै बजार बढ्दै गएमा २९ सयको हाराहारीमा सेयरबजार पुग्छ ।’ साथै उनले तत्कालै धेरै सेलिङ नआउने हुँदा बजार माथि नै जाने दाबी समेत गरिन् ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.