काठमाण्डौ । आज देशभर लोकतन्त्रको ठूलो पर्वका रूपमा निर्वाचनको महाउत्सव मनाइँदैछ। प्रतिनिधिसभा सदस्य चयनका लागि हुने निर्वाचनमा करोडौँ नेपाली मतदाताले मतदानमार्फत आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दैछन्।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता मतदानका लागि योग्य छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २ सय अन्य मतदाता रहेका छन्।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। साथै विशेष परिस्थितिका मतदाताका लागि १४३ अस्थायी मतदान स्थल समेत स्थापना गरिएको छ।
सुरक्षा घेराभित्र मतदान
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन राज्यले कडा सुरक्षा व्यवस्था गरेको छ। आयोगका अनुसार विगतका निर्वाचनजस्तै यसपटक पनि तीन तहको सुरक्षा घेरा लागू गरिएको छ।
सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र मतदान केन्द्रको भित्री सुरक्षामा नेपाल प्रहरी परिचालन गरिएको छ।
निर्वाचन सुरक्षाका लागि
-७९ हजार ७२७ नेपाली सेना
-७५ हजार ७९७ नेपाल प्रहरी
-३४ हजार ५६७ सशस्त्र प्रहरी बल
-१ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभाग
-१ लाख ४९ हजार ९० निर्वाचन प्रहरी
खटिएका छन्।
यसका साथै निर्वाचन व्यवस्थापनका लागि २ लाख १५ हजार सरकारी कर्मचारी परिचालन गरिएको छ।
मतदान केन्द्रहरूलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ। आयोगका अनुसार
-३ हजार ६८० अति संवेदनशील,
-४ हजार ४४२ संवेदनशील,
-२ हजार ८४५ सामान्य मतदान केन्द्र रहेका छन्।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार गृह मन्त्रालयको समन्वयमा तयार गरिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ। हालसम्म निर्वाचन बिथोल्ने कुनै भूमिगत समूहको पहिचान नभएको सरकारी निकायहरूले बताएका छन्।
मतदानप्रति उत्साह
निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको उत्साह पनि उल्लेख्य देखिएको छ। पछिल्लो एक सातामा मात्रै करिब आठ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्, जसले मतदाताको सक्रियता र उत्साह झल्काउँछ।
यसपटकको निर्वाचनमा नयाँ मतदाता करिब १० लाख थपिएका छन्। विशेषगरी युवाहरूको सहभागिता बढेकाले मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने अपेक्षा गरिएको छ।
-२७५ सिटका लागि ६ हजारभन्दा बढी उम्मेदवार
-२७५ सदस्यीय प्रतिनिधिसभामा
-१६५ जना प्रत्यक्ष निर्वाचनबाट
-११० जना समानुपातिक प्रणालीबाट
निर्वाचित हुनेछन्।
प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्। जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य उम्मेदवार रहेका छन्।
समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
यसरी दुवै प्रणाली गरी २७५ सिटका लागि कुल ६ हजार ५४१ उम्मेदवार चुनावी मैदानमा छन्।
युवाको उल्लेख्य उपस्थिति
यसपटकको निर्वाचनमा युवाको उपस्थिति उल्लेख्य देखिएको छ। प्रत्यक्षतर्फ ४० वर्षमुनिका उम्मेदवार ३१ प्रतिशत रहेका छन्।
४० वर्ष वा सोभन्दा कम उमेरका उम्मेदवारको संख्या १ हजार ८२ पुगेको छ, जसमा ५७१ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
लोकतन्त्रको उत्सव
निर्वाचन आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन आग्रह गर्दै यो ऐतिहासिक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भनेका छन्, “लोकतन्त्रको मजबुतीका लागि प्रत्येक मत महत्वपूर्ण हुन्छ। सबै नागरिक उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्छ।”
आज देशभरका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको लाम लाग्ने अपेक्षा गरिएको छ। लोकतन्त्रको शक्ति जनतामा निहित हुन्छ भन्ने सन्देशसहित आज नेपालभर निर्वाचनको महाउत्सव मनाइँदैछ।

