काठमाण्डौँ । बुधबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रका धेरै स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।
केही स्थानमा स्थानीय वायुप्रभावका कारण मौसम अस्थिर रहने सम्भावना पनि देखिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र तातो दिन (हट डे) को अवस्था रहने सम्भावना पनि व्यक्त गरिएको छ।
रातिको समयमा भने देशको अधिकांश भागमा मौसम केही स्थिर रहने अनुमान गरिएको छ।
हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
तर, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि कायमै रहेको विभागले उल्लेख गरेको छ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुप्रणालीको आंशिक प्रभाव रहेको कारण मौसममा निरन्तर परिवर्तन देखिँदै आएको मौसमविद्हरूले बताएका छन्।

