काठमाण्डौ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (भर्ना छनौट शाखा) ले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग संख्या थप गरेको छ। कार्यालयले २०८२ साल मङ्सिर २६ गते प्रकाशित गरेको विज्ञापनमा पद संख्या थप गर्दै नयाँ कोटा निर्धारण गरेको हो।
नयाँ सूचना अनुसार अघिल्लो विज्ञापनमा कूल २१ जना प्रहरी निरीक्षकको माग गरिएकोमा हाल ८ जना थप गरी जम्मा २९ जना पुर्याइएको छ।
यस अन्तर्गत खुलातर्फ साविकको १२ जनामा ४ जना थप गरी १६ जना बनाइएको छ भने आदिवासी/जनजातितर्फ ३ जनामा २ जना थप गरी ५ जना कायम गरिएको छ।
त्यसैगरी मधेसी समूहमा ३ जनामा १ जना थप गरी ४ जना र दलित समूहमा १ जनामा १ जना थप गरी २ जना पुर्याइएको छ। महिला कोटामा भने साविककै २ जना यथावत् राखिएको छ।
सर्वोच्च अदालतबाट परमादेश जारी भई समावेशी समूहका सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध मिलाइएपछि कायम हुन आउने कूल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदको अनुपात र अघिल्ला वर्षहरूमा वास्तविक रूपमा गुम्न गएका पदहरूलाई समेत समेट्ने गरी प्रचलित कानून अनुसार यो पदपूर्ति प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

