काठमाण्डौ । भारतीय सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। दिल्लीस्थित मेदान्ता अस्पतालमा बिहीबार मध्यरातपछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह, पत्नी गीताञ्जली आङ्गो तथा लेह लद्दाख एपेक्स बडीका नेताहरूको उपस्थितिमा उनले अनशन तोडेका हुन्।
अनशन तोडेपछि सामाजिक सञ्जाल एक्समार्फत वाङ्चुकले विभिन्न राजनीतिक दलका ६५ सांसदले अनशन अन्त्य गर्न आग्रह गरेको र सरकारसँग भएका लामो वार्तापछि केही सर्तमा सहमति बनेकाले अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। देशमा हिंसा भड्किने सम्भावनालाई समेत ध्यानमा राखेर आफूले यस्तो निर्णय गरेको उनको भनाइ छ।
वाङ्चुकको अनशनले विद्यार्थी आन्दोलनलाई थप बल दिएको थियो। विशेषगरी जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई उनको समर्थनले राष्ट्रिय बहसको विषय बनाएको थियो।
यसैबीच, ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले वाङ्चुकको त्यागले देशको चेतना जगाएको प्रतिक्रिया दिएका छन्। उनले वाङ्चुकको स्वास्थ्यप्रति खुसी व्यक्त गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
सरकारसँगको वार्ताका क्रममा शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि मुद्दा नचलाउने, परीक्षा प्रणाली सुधार र प्रश्नपत्र चुहावट नियन्त्रणका विषयमा संसदमा छलफल गर्ने तथा हालैका परीक्षा प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनामा आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उपयुक्त राहत उपलब्ध गराउने विषयमा सकारात्मक आश्वासन दिइएको जनाइएको छ।
यद्यपि, वाङ्चुकले अनशन शुरु गर्दा उठाएको शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको विषयमा भने अन्तिम सहमतिमा स्पष्ट उल्लेख गरिएको छैन।
भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहसँगको छलफलपछि मन्त्री नड्डा र सिंहले वाङ्चुकसँग पटक–पटक वार्ता गरेका थिए। दिल्ली उच्च अदालतको आदेशपछि सफदरजङ अस्पतालबाट मेदान्तामा सारिएका वाङ्चुकसँग मंगलबार र त्यसपछि बुधबार पनि वार्ता भएको थियो।
अनशन अन्त्य गर्नुको अर्को प्रमुख कारण आन्दोलन हिंसात्मक बन्न सक्ने चिन्ता रहेको वाङ्चुकले बताएका छन्। जुलाई २० मा संसदतर्फ मार्च गर्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको थियो भने केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक घटना पनि भएका थिए।
अनशन तोड्नुअघि वाङ्चुकले आन्दोलनकारीलाई शान्तिपूर्ण आन्दोलन जारी राख्न आग्रह गर्दै कुनै पनि उक्साहटमा नपर्न र हिंसाको साटो शान्तिको बाटो रोज्न अपिल गरेका थिए।

