काठमाण्डौ । धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला छाड्न पत्र दिएको छ।
समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई धर्मशाला खाली गर्न आग्रह गर्दै पत्र बुझाएको पुष्टि गरेका छन्।
पन्तका अनुसार डा. केसी बास बस्ने भन्दै धर्मशालामा आएका थिए। तर पूर्वजानकारीबिना अनशन सुरु गरेपछि धार्मिक संस्थामा अनशन बस्न दिएको भन्दै दबाब आउन थालेकाले ठाउँ छाड्न भनिएको हो। दबाब कसबाट आएको भन्ने विषय भने उनले खुलाएनन्।
डा. केसीका सहयोगी डा. अमृत जैशीले भने पूर्वजानकारी दिएरै धर्मशालामा अनशन सुरु गरिएको दाबी गरेका छन्। व्यवस्थापन समितिको पत्रपछि अनशनका लागि वैकल्पिक स्थानबारे छलफल भइरहेको उनले बताए।
डा. केसी विभिन्न पाँचबुँदे माग राख्दै बिहीबारदेखि अनिश्चितकालीन सत्याग्रहमा छन्।

