काठमाण्डौ । आगामी मे ५, २०२४ देखि लागू हुनेगरी विदेशी भाषा (टोफल) आईबीटीलाई सबै अष्ट्रेलियाली भिसाका लागि मान्य हुने भएको छ। यो महत्त्वपूर्ण विकासले अष्ट्रेलियामा अध्ययन गर्न, काम गर्न वा बसाइँ सर्न चाहने व्यक्तिहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने जनाइएको छ।
टोफल आईबीटी, अङ्ग्रेजी भाषामा शैक्षिक दक्षता प्रमाणित गर्ने सबैभन्दा रुचाइएको परीक्षण प्रणाली हो र यसलाई अस्ट्रेलियाका १०० प्रतिशत विश्वविद्यालयहरू र विश्वभरका १६० देशहरूमा १२ हजार ५०० भन्दा बढी संस्थाहरूद्वारा स्वीकार गरिएको छ।
टोफल आईबीटी परीक्षालाई मान्यता दिनका लागि गतवर्ष टोफल आईबीटीमा गरिएका परिवर्तनहरू पछि, अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए)ले समीक्षा गरेको थियो।डीएचएको सम्पूर्ण समीक्षामा सफल भएपछि टोफल आईबीटी भिसा आवेदकहरूको अंग्रेजी भाषामा दक्षता परिक्षणको भरपर्दो माध्ययमका रूपमा स्थापित भएको हो। मे५, २०२४ देखि टोफल आईबीटी परीक्षा दिएका आवेदकहरूले आफ्नो अष्ट्रेलियाको भिसा आवेदनको अंगका रूपमा आफ्नो स्कोर बुझाउन सक्नेछन्।
यस विकासको बारेमा बोल्दै ईटीएस भारत र दक्षिण एशियाका कन्ट्री म्यानेजर सचिन जैनले भने,‘ईटीएसमा, हामी विश्वस्तरीय मूल्यांकनमार्फत विश्वव्यापी उच्च शिक्षा र गतिशीलतालाई सहज बनाउन प्रतिबद्ध छौं। अस्ट्रेलिया नेपाली विद्यार्थी तथा पेसाकर्मीहरूले रुचाएको स्थान हो।सन् २०२३ मा ५३ हजार भन्दा बढी नेपाली विद्यार्थी तथा पेसाकर्मीहरू अस्ट्रेलियाका विश्वविद्यालय तथा पेसामा आवद्ध भएका थिए।अष्ट्रेलियाले विश्वस्तरको उच्च शिक्षा र अध्ययनपछि काम गर्ने अवसर प्रदान गर्दछ, क्यूएस विश्वविश्वविद्यालय र्यांकिङमा उल्लेख गरिएका १०० विश्वविद्यालयहरूमध्ये ९ विश्वविद्यालयहरू अष्ट्रेलियाका छन् ।’
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष शेषराज भट्टराईले भने, ‘अष्ट्रेलियाको भिसा आवेदनका लागि टोफल आईबीटी स्वीकृत हुनु सुखद समाचार हो। मलाई लाग्छ यो स्वीकृतिले नेपाली विद्यार्थीको अष्ट्रेलियामा अध्ययन गर्ने पहुँच मात्र बढाउँदैन, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अष्ट्रेलियाको प्रतिबद्धतालाई पनि आत्मसात गर्छ। चीन र भारतपछिअष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने तेस्रो ठूलो देश नेपाल हो।टोफल आईबीटीको विश्वव्यापी मान्यता र विश्वसनीयताले विश्वभरका विद्यार्थी र पेसाकर्मीहरूका लागि अंग्रेजी परीक्षणको भरपर्दो उपायका रूपमा यसको महत्त्वलाई अझ बलियो बनाउँछ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                