काठमाण्डौ । नेपालको पूँजीबजारमा ठूलो अपेक्षासहित ल्याइएको मार्जिन ट्रेडिङ व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबारसम्बन्धी निर्देशिका लागू गरिसके सार्वजनिक घोषणा गरे पनि त्यसको व्यवहारिक कार्यान्वयनका लागि आवश्यक कार्यविधि नबन्दा व्यवस्था अन्योलमै परेको हो।
सेबोनले उक्त निर्देशिका लागू गर्दै २०८२ फागुन १ गतेदेखि कार्यविधिसहित कार्यान्वयन गर्ने संकेत दिएको थियो। तर अहिले चैत २ गते भइसक्दा पनि व्यवस्था व्यवहारमा लागू हुने अवस्था बनेको छैन, जसले पूँजीबजारमा चासो र आशंका दुवै बढाएको छ।
‘अब थप ढिला गर्न हुँदैन’: ब्रोकर एशोसिएसन
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले मार्जिन ट्रेडिङ लागू गर्ने विषयमा अब थप ढिलाइ गर्न नहुने बताएका छन्।
उनका अनुसार फागुन १ देखि कार्यविधि बनाएर व्यवस्था लागू गर्ने भनिए पनि झण्डै एक महिना बितिसकेको अवस्थामा अझै प्रक्रिया पूरा हुन सकेको छैन।
बिजशालासँग कुरा गर्दै अध्यक्ष ढकालले भनेः “हामीले नेप्सेको उच्च व्यवस्थापनसँग यस विषयमा निरन्तर छलफल गरिरहेका छौं। उहाँहरूले यही साताभित्रै कार्यविधि बनाएर सञ्चालक समितिमा पेश गर्ने बताउनुभएको छ।”
उनका अनुसार यस विषयमा यही साताभित्र प्रक्रिया टुंग्याउने सहमति भएको छ।
“अब नेप्सेको बोर्डले चाँडै निर्णय गरिदियो भने यो व्यवस्था छिट्टै कार्यान्वयनमा आउनसक्छ,” उनले भने।
लगानीकर्ताले स्वागत गरेको प्रडक्ट
अध्यक्ष ढकालकाअनुसार मार्जिन कारोबारसम्बन्धी यो नयाँ प्रडक्टलाई आम लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्।
उनले स्थायी सरकार बन्ने अवस्था, बजारमा सम्भावित तरलता वृद्धि र लगानीकर्ताको मनोबल बढ्ने परिस्थितिका कारण मार्जिन ट्रेडिङले समग्र पूँजीबजारलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
“अधिक तरलता, लगानीकर्ताको उच्च मनोबल र सकारात्मक बजार वातावरणका कारण यो व्यवस्था लागू भएपछि पूँजीबजारलाई ठूलो सहयोग पुग्छ,” ढकालले भने।
उनले नेप्सेलाई कार्यविधि चाँडो टुंग्याउन सुझावसमेत दिएका छन्।
कार्यविधिको ड्राफ्ट तयार
उता, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले मार्जिन कारोबार कार्यान्वयनसम्बन्धी कार्यविधिको ड्राफ्ट तयार भइसकेको जानकारी दिएका छन्।
बिजशालासँग कुरा गर्दै उनले भने, “सम्बन्धित शाखाबाट मार्जिन कारोबार कार्यान्वयन कार्यविधिको ड्राफ्ट तयार भइसकेको छ। अब त्यो सञ्चालक समितिमा पेश हुन्छ। त्यहाँबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउँछ।”
यसले देखाउँछ कि पूँजीबजारमा महत्वपूर्ण मानिएको मार्जिन ट्रेडिङ व्यवस्था अब अन्तिम निर्णयको चरणमा पुगेको छ।
अब नेप्से सञ्चालक समितिले कहिले निर्णय गर्छ र व्यवस्था व्यवहारमा कहिले लागू हुन्छ भन्ने विषयमा बजारका लगानीकर्ता र सरोकारवालाको ध्यान केन्द्रित भएको छ।
निर्देशिकामा के व्यवस्था छ ?
सेबोनले जारी गरेको निर्देशिकाअनुसार लगानीकर्ताले ब्रोकरमार्फत सापटी रकम प्रयोग गरेर सेयर कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ।
निर्देशिकामा कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिन राख्नुपर्ने, कारोबारपछि २० प्रतिशत मेन्टेनेन्स मार्जिन कायम राख्नुपर्ने जस्ता प्रावधान राखिएका छन्।
यस्तै, मार्जिन ट्रेडिङ सेवा दिन चाहने ब्रोकर कम्पनीको कम्तीमा २० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था पनि गरिएको छ।
यो निर्देशिकाको मुख्य उद्देश्य भनेको मार्जिन कारोबारका लागि आवश्यक कर्जा लिन बैंकहरुसम्म धाइरहन नपर्ने भन्ने हो । निश्चित मापदण्ड पूरा गरेका ब्रोकरहरुबाटै सहज र सरल रुपमा सेयर लगानीकर्ताहरुले मार्जिन लोन प्राप्त गर्ने सजिलो बाटो यो व्यवस्थाले खोलिदिएको छ ।

