काठमाण्डौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक मंगलबारका लागि बोलाइएको छ ।
समिति सचिवालयका अनुसार बैठक बिहान ९ः४५ बजे बस्नेछ र त्यसमा शर्माविरुद्ध दर्ता भएका उजुरीहरू खोल्ने तथा सुनुवाइ प्रक्रियाको प्रारम्भिक तयारी गर्ने कार्यसूची तय गरिएको छ ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि सिफारिस भएका व्यक्तिविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो ।
सोही आह्वानअनुसार विभिन्न व्यक्ति, कानून व्यवसायी तथा सरोकारवाला पक्षबाट समितिमा उजुरी दर्ता भएका हुन् ।
अब ती उजुरीहरूलाई औपचारिक रूपमा अध्ययन प्रक्रियामा लैजाने तयारी गरिएको छ ।
समितिले यसअघि जेठ ४ गतेसम्मको समयसीमा तोक्दै प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध कुनै गुनासो, असहमति वा जानकारी भए लिखित रूपमा बुझाउन आग्रह गरेको थियो ।
समितिमा प्राप्त उजुरीहरूलाई संवैधानिक सुनुवाइ प्रक्रियाको आधार सामग्रीका रूपमा अध्ययन गरिनेछ ।
समिति स्रोतका अनुसार मंगलबारको बैठकमा सबै उजुरीहरू खोलिसकेपछि तिनको प्रकृति र विषयवस्तुका आधारमा आगामी प्रक्रिया तय गरिनेछ ।
आवश्यक ठानिएमा उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गरिनेछ ।
उजुरीकर्ताले उठाएका प्रश्न, आरोप वा सरोकारबारे समितिले प्रत्यक्ष जानकारी लिने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मासँग संसदीय सुनुवाइ गरिनेछ ।

