शुक्रबार, श्रावण ८,२०८३ 09:43:33
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:43:33
Bizshala
Global IME Bank Limited

काठमाण्डौँ –शेन्जेन सिधा उडान शुरु, नेपालको पर्यटनमा नयाँ ढोका

काठमाण्डौँ –शेन्जेन सिधा उडान शुरु, नेपालको पर्यटनमा नयाँ ढोका
New Office

काठमाण्डौँ । नेपालको पर्यटन उद्योग र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हिमालय एयरलाइन्सले काठमाडौँ–चीनको शेन्जेन सिधा उडान सेवा सञ्चालनमा ल्याएको छ।  

चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र “शेन्जेन” सँग सीधा हवाई जोडिएसँगै नेपाल–चीन पर्यटन र व्यावसायिक सम्बन्धमा नयाँ आयाम थपिएको छ।

नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलसम्म साप्ताहिक दुई नियमित उडान शुरु गरेको हो।  

पर्यटन प्रवर्द्धन, व्यापारिक आवागमन र सांस्कृतिक आदान–प्रदानलाई सहज बनाउने उद्देश्यले यो सेवा शुरु गरिएको बताइएको छ।

कम्पनीका अनुसार पहिलो ऐतिहासिक काठमाण्डौँ –शेन्जेन उडान जुन ४, २०२६ मा राति ९:५९ बजे ९८ यात्रु लिएर प्रस्थान गरेको थियो, जुन अर्को दिन बिहान ४:१७ बजे शेन्जेनमा अवतरण गरेको हो।  

त्यसैगरी, शेन्जेनबाट काठमाण्डौँका लागि पहिलो फिर्ती उडान जुन ५ मा बिहान ६:१२ बजे १५७ यात्रुसहित उडान भरी सोही दिन बिहान ८:२६ बजे काठमाडौँ आइपुगेको थियो।

पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार यो नयाँ सिधा रुटले नेपाललाई चीनको तीव्र आर्थिक वृद्धि भइरहेको दक्षिणी क्षेत्रसँग जोड्ने महत्वपूर्ण माध्यम बनाउनेछ। 

यसले विशेषगरी चीनबाट आउने पर्यटकका लागि यात्रा समय घटाउने, लागत कम गर्ने तथा नेपाललाई आकर्षक गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

साथै, नेपाली पर्यटक र व्यवसायीका लागि पनि शेन्जेनजस्ता आधुनिक प्रविधि र व्यापार केन्द्रमा सहज पहुँच बढ्नेछ, जसले पर्यटनसँगै व्यापारिक अवसरहरू पनि विस्तार गर्ने अनुमान गरिएको छ।

हिमालय एयरलाइन्सले काठमाण्डौँ –शेन्जेन उडान प्रत्येक मङ्गलबार र बिहीबार सञ्चालन गर्नेछ भने शेन्जेन–काठमाण्डौँ  फिर्ती उडान प्रत्येक बुधबार र शुक्रबार नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

विशेषज्ञहरूका अनुसार यो नयाँ हवाई सेवा नेपाललाई पूर्वी एसियाली पर्यटन बजारसँग अझ नजिक ल्याउने रणनीतिक कडी बन्न सक्छ, जसले दीर्घकालीन रूपमा पर्यटक आगमन, लगानी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.