शुक्रबार, श्रावण ८,२०८३ 09:56:11
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:56:11
Bizshala
Global IME Bank Limited

मतदाता सूची विवादले रास्वपा सुनसरी अधिवेशन तनावग्रस्त, बन्दसत्रमा कुटाकुट

मतदाता सूची विवादले रास्वपा सुनसरी अधिवेशन तनावग्रस्त, बन्दसत्रमा कुटाकुट
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला प्रथम अधिवेशन अन्तर्गत शुक्रबार कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा आयोजित बन्दसत्र तनावग्रस्त बनेको छ। मतदान प्रक्रियालाई लिएर उत्पन्न विवादका कारण अधिवेशनस्थलमा केहीबेर होहल्ला तथा धकेलाधकेलको अवस्था सिर्जना भएको हो।

अधिवेशनमा सहभागी केही युवा कार्यकर्ताले आफूहरूलाई मतदानको अधिकारबाट वञ्चित गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार यसअघि मतदाता सूचीमा समावेश गरिएका नामहरू मतदान प्रक्रिया सुरु हुनुअघि नै हटाइएपछि असन्तुष्टि चुलिएको थियो।

विरोधस्वरूप केही युवा कार्यकर्ताले बन्दसत्र हलको मुख्य प्रवेशद्वारमै धर्ना दिएका थिए। उनीहरूले मतदाता सूची पुनरावलोकन नगरी निर्वाचन प्रक्रिया अगाडि बढाउन नहुने माग गरेका थिए। तर निर्वाचन कार्यक्रम निर्धारित समयमै अगाडि बढाउने तयारी भएपछि विवाद झन् चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

असन्तुष्ट पक्षका नेताहरूले आफूहरूको आवाज बेवास्ता गर्दै नेतृत्व पक्षले बल प्रयोग गरेर निर्वाचन प्रक्रिया अघि बढाउन खोजेको आरोप लगाएका छन्। यही क्रममा केहीबेर धकेलाधकेल र चर्काचर्की भएको उनीहरूको दाबी छ।

यद्यपि जिल्ला प्रहरी कार्यालय सुनसरीले भने घटनालाई सामान्य विवादको रूपमा चित्रण गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्र खड्काले अधिवेशनस्थलमा केहीबेर होहल्ला भए पनि हातहालाहाल वा कुनै अप्रिय घटना नभएको बताएका छन्।

‘केही प्रतिनिधिबीच मतदाता सूचीको विषयलाई लिएर विवाद भएको थियो। अहिले अवस्था पूर्ण रूपमा सामान्य छ र मतदान प्रक्रिया सञ्चालन भइरहेको छ,’ उनले भने।

रास्वपाले संगठन विस्तार र नयाँ नेतृत्व चयनका लागि देशभर जिल्ला अधिवेशनहरू सञ्चालन गरिरहेका बेला सुनसरी अधिवेशनमा देखिएको विवादलाई पार्टीभित्र बढ्दो असन्तुष्टि र आन्तरिक व्यवस्थापनको चुनौतीका रूपमा समेत हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.