शुक्रबार, श्रावण ८,२०८३ 09:56:40
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:56:40
Bizshala
Global IME Bank Limited

खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यका कारण विश्वभर वर्षेनि ६० करोड प्रभावित, खाद्यजन्य रोगबाट वार्षिक ४ लाखभन्दा बढीको मृत्यु

खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यका कारण विश्वभर वर्षेनि ६० करोड प्रभावित, खाद्यजन्य रोगबाट वार्षिक ४ लाखभन्दा बढीको मृत्यु
New Office

काठमाण्डौँ । विश्वभर खाद्य सुरक्षाको चुनौती अझै गम्भीर बनेको देखिएको छ।  

दूषित खाना र असुरक्षित खानेपानीका कारण प्रत्येक वर्ष करोडौँ मानिस विभिन्न रोगको सिकार हुने गरेका छन् भने लाखौँले ज्यान गुमाउने गरेका छन्। 

यही अवस्थाप्रति जनचेतना अभिवृद्धि गर्न शनिबार विश्व खाद्य सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार हरेक वर्ष विश्वभर करिब ६० करोड मानिस खाद्यजन्य रोगबाट प्रभावित हुने गरेका छन्।  

दूषित खाद्यवस्तुका कारण वार्षिक रूपमा करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्कले खाद्य सुरक्षाको विषयलाई विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा स्थापित गरेको छ।

संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेपछि सन् २०१९ देखि यो दिवस विश्वभर औपचारिक रूपमा मनाउन थालिएको हो।  

दिवसको समन्वय र प्रवर्द्धन विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ० ले संयुक्त रूपमा गर्दै आएका छन्।

विशेषज्ञहरूका अनुसार सुरक्षित, स्वच्छ र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव स्वास्थ्य, जीवनस्तर र समग्र कल्याणका लागि आधारभूत आवश्यकता हो।  

तर, खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न रोग फैलिने जोखिम निरन्तर रहन्छ।  

यस्ता धेरै जोखिमहरू प्रत्यक्ष रूपमा देख्न नसकिने भएकाले खाद्य सुरक्षा सुनिश्चित गर्नु झन् चुनौतीपूर्ण बनेको छ।

डब्ल्युएचओको तथ्याङ्कले खाद्यजन्य रोगको असर बालबालिकामा अझ बढी रहेको देखाएको छ।  

पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्ने गरेका छन्। 

यस्ता रोगका कारण प्रत्येक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको उल्लेख गरिएको छ।

खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, वृद्धवृद्धा, आप्रवासी, द्वन्द्व प्रभावित समुदाय तथा कमजोर आर्थिक अवस्थाका मानिसहरूलाई बढी असर पार्ने गरेको विज्ञहरू बताउँछन्।  

त्यसैले खाद्य सुरक्षालाई केवल स्वास्थ्यको विषय मात्र नभई सामाजिक, आर्थिक र विकाससँग जोडिएको मुद्दाका रूपमा हेरिन थालेको छ।

खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण प्रक्रियासँग सम्बन्धित विषय हो।  

कृषि उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, बजार व्यवस्थापन तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्डको पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने विज्ञहरूको भनाइ छ।

यस वर्षको दिवसले खाद्य सुरक्षा सुनिश्चित गर्न प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, आधुनिक खाद्य सुरक्षा व्यवस्थापन तथा उपभोक्ता सचेतनाको महत्त्वमा विशेष जोड दिएको छ।  

खाद्य सुरक्षाको जिम्मेवारी सरकार वा उद्योगको मात्र नभई उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ता सबैको साझा दायित्व भएको सन्देश पनि दिवसले दिएको छ।

‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने मूल सन्देशसहित मनाइँदै आएको यो दिवसले सुरक्षित खाद्यवस्तु, जनस्वास्थ्य, कृषि उत्पादन, व्यापार, पर्यटन र दिगो विकासबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै खाद्य सुरक्षाका लागि सबै पक्षलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.