काठमाण्डौ । विपक्षी दलहरूको गठबन्धन ‘इन्डिया ब्लक’को बैठकमा पाँच महत्वपूर्ण विषयमा सहमति जुटेको छ।
बैठकपछि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामाको माग गरिएको जानकारी दिएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरगेले मतदाता सूची र मतदान प्रक्रियामा भएको भनिएको अनियमितताबारे भारतका प्रधानन्यायाधीश (सीजेआई) लाई पत्र लेख्ने निर्णयसमेत भएको बताए।
उनले मतको दुरुपयोग तथा निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि उठेका प्रश्नबारे न्यायिक हस्तक्षेप आवश्यक रहेको धारणा राखे।
खरगेका अनुसार केन्द्र सरकारले बेरोजगारी, बढ्दो महँगी र किसानका समस्याजस्ता जनजीविकासँग सम्बन्धित विषयमा छलफल गर्न तत्काल सर्वदलीय बैठक आह्वान गर्नुपर्ने माग पनि गठबन्धनले गरेको छ।
साथै, नीट र सीबीएसई परीक्षासँग सम्बन्धित विवाद तथा शैक्षिक क्षेत्रका कमजोरीका कारण शिक्षा मन्त्रीले नैतिक जिम्मेवारी लिएर पद छाड्नुपर्ने अडान इन्डिया ब्लकले लिएको छ।
उनले गठबन्धनको अर्को बैठक आगामी अगस्ट ८ मा हैदराबादमा बस्ने जानकारी दिँदै बैठकमा भएका सहमतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।
यसैबीच, राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी–एसपी) का नेता शरद पवारले देशका विभिन्न विपक्षी शक्तिहरू एकजुट हुन थालेको बताएका छन्।
उनले सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति असहमति राख्ने राजनीतिक शक्तिहरू साझा एजेन्डामा केन्द्रित हुँदै गएको उल्लेख गरे।
पवारले आगामी दिनमा थप राजनीतिक दल र प्रभावशाली व्यक्तित्वहरूलाई पनि गठबन्धनमा समेट्ने प्रयास गरिने बताउँदै सबै पक्षले लचिलोपन देखाए सहमतिको मार्ग सहज बन्ने विश्वास व्यक्त गरे।
उता, इन्डिया ब्लकको बैठकमा केही दल सहभागी नभएको विषयमा पनि चर्चा भएको छ। स्रोतहरूका अनुसार संसद्मा प्रतिनिधित्व भएका दलहरूलाई प्राथमिकताका साथ निमन्त्रणा गरिएको थियो।
यद्यपि, सन् २०२४ अगाडि गठबन्धनमा आबद्ध भएका केही दलहरू भने सांसद नभए पनि बैठकमा सहभागी भएका थिए।
गठबन्धनलाई अझ विस्तार गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्।

