काठमाण्डौ । स्पेनका पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ नेता मारियानो राजोयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा ‘फ्रान्सेली खेलाडी नै छैनन्’ भन्ने विवादास्पद टिप्पणी गरेपछि स्पेन र फ्रान्स दुवै देशमा उनको व्यापक आलोचना भईरहेको छ। उक्त टिप्पणी स्पेनले विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नुअघि प्रकाशित उनको एक लेखमा गरिएको थियो।
स्पेनका वर्तमान प्रधानमन्त्री पेड्रो सान्चेजले राजोयको अभिव्यक्तिलाई विदेशीविरोधी भन्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले केही मानिसले नागरिकताको आधार थर, जन्मस्थान वा छालाको रङलाई मान्ने गरे पनि आफू भने देशलाई माया गर्ने र योगदान गर्ने सबै नागरिकलाई समान रूपमा स्वीकार गर्ने पक्षमा रहेको बताएका छन्।
साथै उनले स्पेन त्यसलाई माया गर्ने र त्यसका लागि काम गर्ने सबैको हो, घृणायुक्त अभिव्यक्तिबाट देशको बदनाम गर्नेहरूको होइन’ भन्दै टिप्पणी गरेका छन्।
स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले राजोयलाई फ्रान्को युगको सोच बोकेको व्यक्ति भन्दै आलोचना गरेका छन्। यता, फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले राजोयको अभिव्यक्तिलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ बताएका छन्।
फ्रान्सेली कम्युनिस्ट पार्टीका नेता फाबियन रुसेलले पनि राजोयको टिप्पणीलाई हालै पाराग्वेका एक सिनेटरले फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेबारे दिएको जातीय टिप्पणीसँग तुलना गर्दै यस्तो अभिव्यक्ति घृणित जातीय विभेदको उदाहरण भएको बताएका छन्।
फ्रान्सकी भेदभावविरुद्ध मन्त्री ओरोर बेर्जेले खेलकुदलाई प्रतिभाका आधारमा मूल्याङ्कन गरिनुपर्ने क्षेत्र भएको उल्लेख गर्दै जातीय टिप्पणीको अन्त्य हुनुपर्ने बताएकी छन्।
त्यस्तै, विदेशस्थित फ्रान्सेली भू–भागसम्बन्धी मन्त्री नाइमा माउचुले फ्रान्सविरुद्ध दोहोरिने यस्ता अभिव्यक्तिले जातीय पूर्वाग्रहलाई उजागर गर्ने प्रतिक्रिया दिएकी छन्। समाजवादी पार्टीका नेता ओलिभिए फोरले पनि ‘फ्रान्सको कुनै छालाको रङ वा धर्म हुँदैन’ भन्दै सबै नागरिक फ्रान्सेली भएको स्पष्ट पारेका छन्।
म्याड्रिडस्थित फ्रान्सेली दूतावासले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै फ्रान्सको २६ सदस्यीय टोलीका सबै खेलाडी फ्रान्सेली नागरिक रहेको र तीमध्ये २३ जना फ्रान्समै जन्मिएका जानकारी दिएको छ।
यस्तै, फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले राजोयको अभिव्यक्तिमा ‘अस्वीकार्य जातीय टिप्पणी’ रहेको बताएका छन्।

