काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावटमा आएको छ। उक्त गिरावटका साथ सुनको भाउ प्रतिऔंस ४ हजार १ सय डलरबाट तल झरेको छ । मध्यपूर्वमा पुनः बढेको तनाव, तेलको मूल्यमा आएको उछाल र अमेरिकी डलर बलियो बनेपछि सुन बजारमा बिक्री दबाब बढेको हो।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.१२ प्रतिशत अर्थात ४५ डलरले ओरालो लाग्दै प्रतिऔंस ४ हजार ५९ डलरमा सीमित बनेको छ ।
अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य कारबाही र त्यसपछि क्षेत्रीय तनाव बढेसँगै ऊर्जा आपूर्ति र मुद्रास्फीतिको चिन्ता बढेको छ। यसले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने सम्भावनामा असर पार्न सक्ने अपेक्षा बढाएको छ।
तेलको मूल्य वृद्धि र मुद्रास्फीतिको जोखिमले अमेरिकी डलरलाई समर्थन गरेको छ, जसले डलरमा कारोबार हुने सुनलाई थप महँगो बनाउँदै लगानीकर्ताको आकर्षण घटाएको छ। फेडको पछिल्लो मौद्रिक नीति प्रतिवेदनले पनि मुद्रास्फीतिको दबाब अझै कायम रहेको संकेत गरेपछि बजारमा सतर्कता बढेको छ।
सुन लगानीकर्ताहरू अब अमेरिकी उपभोक्ता मूल्य सूचकांक तथ्यांक र फेडका नयाँ अध्यक्ष केभिन वार्शको कंग्रेससमक्ष हुने पहिलो अर्धवार्षिक बयानतर्फ केन्द्रित छन्। यी सूचकहरूले अमेरिकी ब्याजदरको आगामी दिशाबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

