काठमाण्डौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलाको बाढीले सोमबार बिहान एउटा ट्रक बगाएको छ। दुर्घटनामा परेका चालक भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्।
हेटौंडा–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्कने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रक बिहान करिब ७ बजेर ४५ मिनेटमा बाढीको चपेटामा परेको हो।
प्रहरीका अनुसार खोला तर्न ह्युमपाइप राखेर निर्माण गरिएको अस्थायी कल्भर्ट क्षेत्रमा पानीको बहाव अचानक बढेपछि ट्रक बगाएको हो। ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर सुरक्षित बाहिर निस्किएका छन्।
दुर्घटनामा चालक थिङको खुट्टामा सामान्य चोट लागेको छ। उनको हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

