काठमाण्डौं । पूर्वगृहमन्त्री सुधन गुरुङले सम्पत्ति छानबिनपछि आफू निर्दोष ठहर भएको अवस्थामा पुनः सरकारमा फर्किने राजनीतिक संकेत दिएका छन् ।
उनका अनुसार अवसर पाए करिब दुई महिनाभित्र गृह प्रशासन र सुरक्षा क्षेत्रमा सुधारका प्रारम्भिक काम शुरु गर्न सकिनेछ ।
उनले तत्कालको राजनीतिक औपचारिकता र प्रचारभन्दा ठोस कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
आइतबार रास्वपा गोरखाको अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिइए छोटो समयमै प्रभावकारी परिणाम देखाउन सक्ने दाबी गरे ।
“यदि मलाई फेरि जिम्मेवारी दिइयो भने दुई महिनाभित्र धेरै कामको आधार तयार गर्छु,” उनले भने, “त्यस अवधिमा औपचारिक कार्यक्रमभन्दा मन्त्रालयको काममा केन्द्रित हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा हो ।”
उनले जिम्मेवारी पाए अपेक्षित नतिजा दिन नसके राजनीतिक जिम्मेवारी स्वीकार गर्न तयार रहने पनि स्पष्ट पारे ।
साथै उनले जनताको विश्वास र मतप्रति आफू पूर्ण रूपमा उत्तरदायी रहने बताए ।
पूर्वमन्त्री गुरुङले आफ्नो राजनीतिक भूमिका र जनसम्बन्धप्रति सचेत रहेको उल्लेख गर्दै आफू व्यवहारिक र परिणाममुखी नेतृत्वमा विश्वास गर्ने धारणा राखेका छन् ।

